नेपाली बजारमा हाल १५० सीसी सेग्मेन्टका मोटरसाइकल सबैभन्दा धेरै बिक्री हुने गरेको पाइन्छ । पछिल्लो समय नेपाली युवा पुस्ता १५० सीसी सेग्मेन्टबाट २०० तथा २५० सीसी सेग्मेन्टमा उक्लनेको संख्या बढ्दो क्रममा रहेको छ ।
केही समय अगाडि मात्र नेपाल आएका यामाहाले २५० सीसी सेग्मेन्टमा ल्याएको एफजेड २५, भीजी सुजुकीले जिक्सर २५० जस्ता मोटरसाइकल ल्याएर सफलता प्राप्त गरिरहेको छन् । हाल नेपाली बजारमा २०० सीसी सेग्मेन्टले फड्को मार्दै गरेको अबस्था रहेको छ ।
अहिले नेपाली बजारमा बजाज पल्सर एनएस-२००, टीभीएस अपाची आरटीआर २००फोर भी, केटीएम डुक-२०० र हिरो एस्ट्रीम-२०० लगायतका बाइकहरु बिक्री वितरण भइरहेका छन् ।
बजारमा धेरै उत्पादन भएपनि २०० सीसी सेग्मेन्टमा बजाज पल्सर एनएस २०० को बिकल्पमा अन्य उत्पादनले टक्कर दिन सकेका छैनन् । टीभीएसले आरटीआर २०० सार्वजनिक गरेपछि केही प्रतिस्पर्धा बढेको थियो । यस पश्चात बजाजले एनएस २०० मा परिमार्जन गरि ल्याएको थियो । बजाजले एनएस २०० लाई एबीएस, एफआइ जस्ता फिचर थप गरेर ल्याएको छ । अब भने टीभीएसले एबीएस तथा स्मार्ट कनेक्ट फिचर थप गरेर आरटीआर २०० लाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
पावर र स्पीडका कारण २०० सीसी क्षमताका बाइक विशेष गरेर युवावर्गमा लोकप्रिय रहेको छ । पावर राइडिङ्गमा रमाउनेहरूले २०० सीसी बाइक धेरै रुचाउने गरेको पाइन्छ ।
आज हामी नेपाली बजारमा सर्वाधिक बिक्री भएको २०० सीसी सेग्मेन्टका २ भिन्न ब्राण्डका बाइकहरू बजाज एनएस-२०० र टीभीएस अपाची आरटीआर २००-फोर भीको तुलना गर्दैछौं ।
इन्जिन
बजाज पल्सर एनएस-२०० मा १९९.५ सीसी सिङ्गल सिलिन्डर ४ भल्भ इञ्जिन रहेको छ । जसले ९५०० आरपीएममा २३.५ पीएस पावर तथा ८००० आरपीएममा १८.३ एनएम-टर्क जेनेरेट गर्छ ।
त्यस्तै, टीभीएस अपाची २००-फोर भीमा १९७.७५ सीसी सिङ्गल सिलिन्डर ४ भल्भ इन्जिन रहेको छ जसमा ८५०० आरपीएममा २०.५ पीएस पावर तथा ७००० हजार आरपीएममा १८.१ एनएम टर्क जेनेरेट गर्छ ।
पल्सर एनएस-२०० को उच्च गति १३६ किलोमिटर प्रतिघन्टा रहेको छ भने, यसले ० देखि ६० किलोमिटरको गति लिन ३.६१ सेकेन्डमात्र लगाउँछ । यसमा सिक्स स्पीडको ग्रियरबक्स रहेको छ ।
टीभीएस अपाची आरटीआर २००-फोर भीको अधिकतम् गति १२९ किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ० देखि ६० किलोमिटरको गति लिन ३.९५ सेकेन्डमात्र लिन्छ । यसमा फाइभ स्पीडको ट्रान्समिसन ग्रियर रहेको छ ।
यी दुईको इन्जिन पफर्मेन्सलाई तुलनागर्दा एनएस-२०० पावरफुल देखिन्छ ।
माइलेज
कम्पनीकाअनुसार बजाज एनएस-२०० ले प्रतिलिटर ३६ किलोमिटर माइलेज प्रदान गर्छ भने, यसमा १२ लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको छ ।
त्यस्तै, टीभीएस अपाची २०० फोर भीले प्रतिलिटर ४१ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसको फ्यूल ट्याङ्क क्षमता पनि समान १२ लिटर नै रहेको छ । कम्पनीको दाबी अनुसार माइलेजको आधारमा टीभीएस अपाची आरटीआर राम्रो देखिएको छ ।
ह्वीलवेस र ग्राउन्ड क्लियरेन्स
टीभीएस अपाची आरटीआर २०० फोर भीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ भने, यसको ह्वीलवेश १५५३ एमएम रहेको छ । अपाची आरटीआर २०० फोर भीमा १७ इञ्चको ट्यूवलेश अलोय ह्वील दिइएको छ ।
त्यस्तै, बजाज पल्सर एनएस-२०० को ग्राउन्ड क्लियरेन्स १६९ एमएम रहेको छ भने यसको ह्वीलवेश १३६३ एमएम रहेको छ । एनएस-२०० मा पनि अपाची२००फोर भीको समान १७ इञ्च ट्यूवलेश अलाय ह्वील रहेको छ ।
अन्य विशेषता
एनएस-२०० तथा अपाची २०० फोर भी बाइकको आफ्नै बिशेषताका कारण युवा वर्गको पहिलो रोजाइमा पर्दै आएको छ । बजाज पल्सर एनएस नेपाली युवामाझ निकै चर्चित मोटरसाइकल रहेको छ भने आरटीआर २०० फोर भीमा युवाको आर्कषण बढ्दै गएको छ । कम्पनीले आरटीआर २०० फोर भीमा नयाँ परिमार्जन गरेर सार्वजनिक गर्ने तयारी गरे पश्चात फेरी चर्चामा आएको छ । नयाँ आरटीआरमा एलइडी हेडल्याम्प, एबीएस तथा स्मार्ट कनेक्ट फिचर थप गरेको छ ।
यी दुवै माेटरसाइकलमा लो-फ्यूल वार्निङ्ग इन्डिकेटर, ट्रिप मिटर, क्लक ,एलइडी टेल-ल्याम्प रहेको छ । यसका साथै यी दुवैमा गियर इन्डिकेटर रहेको छ भने, आरटीआरमा स्लिपर क्लच रहेको छ ।
मूल्य
बजाज एनएस-२०० एफआइ एबीएसको मूल्य ३ लाख ५८ हजार ९०० रुपैयाँ रहेको छ भने टीभीएस अपाची आरटीआर २०० फोर भी स्मार्ट कनेक्टको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ । मूल्यका आधारमा हेर्दा टीभीएस अपाची २०० सस्तो रहेको छ । यद्यपी एनएस एबीएस मात्रै र काब्रुरेटर इन्जिन मात्रैमा पनि किन्न सकिन्छ ।
निष्कर्ष
बजाजको पावर र स्टाइलिस राइडिङ र टीभीएसको रेसिङ डिएनए बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यी दुबै मोटरसाइकललाई उत्कृष्ट बनाउन कम्पनीले कुनै कसर बाँकी राखेका छैनन् । मस्कुलर बडी, एफआई इन्जिन र बढी पावरले बजाज पल्सर एनएस आरटीआरको तुलनामा केही महंगो देखिन्छ ।
स्मार्ट फिचरले भरिपुर्ण रहेको टीभीएस आरटीआर २०० फोर भीको मूल्य केही कम रहेको छ । एउटै सेग्मेटमा रहेको यी मोटरसाइकलमा भिन्न प्रकारका फिचर रहेका छन् ।
पावर, मूल्य र उत्कृष्ट फिचर जस्ता कारण यी दुई मोटरसाइकलमा कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । आरटीआर २०० फोर भीको नयाँ संस्करण ५ दिन पश्चात नेपालमा सार्वजनिक हुँदैछ ।
Discussion about this post