सुमन अधिकारी /थर्पू
याङवरक गाउँपालिकाको केन्द्र थर्पूमा रहेको थर्पू स्वास्थ्य चौकी १५ शैय्याको अस्पताल बन्ने भएको छ ।
थर्पू स्वास्थ्य चौकी सहित पाँचथरका सबै स्थानीय तहहरुमा १५ शैय्याको अस्पताल निर्माण हुन लागेका हुन् । यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको पहलमा सबै स्थानीय तहमा अस्पताल निर्माण हुने भएका हुन् ।
जिल्लामा हाल रहेका दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गत वर्ष नै गरेको थियो । पछिल्लो पटक थप छ वटा स्वास्थ्य चौकीहरुलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भएको मन्त्री नेम्वाङको सचिवालयका गणेश योङहाङले जानकारी दिनुभयो ।
अब याङवरक गाउँपालिकाको थर्पू स्वास्थ्य चौकी, हिलिहाङको अमरपुर स्वास्थ्य चौकी, फालेलुङ गाउँपालिकाको नाम्लुवा स्थित मेमेङ स्वास्थ्य चौकी, फाल्गुनन्द गाउँपालिकाको फाक्तेप स्वास्थ्य चौकी, कुम्मायक गाउँपालिकाको यासोक स्वास्थ्य चौकी र तुम्बेवा गाउँपालिकाको मौवा स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नति हुने भएका छन् ।
यी स्थानमा अस्पताल निर्माण गर्नका लागि सम्बन्धित स्थानीय तहले १२ रोपनी जमिन निःशुल्क उपलब्ध गराउनु पर्नेछ । जग्गा प्राप्त भएपछि अस्पताल निर्माणको प्रकृया सुरु हुने योङहाङले जानकारी दिनुभयो ।
मन्त्री नेम्वाङको पहलमा गत वर्ष प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार र प्राथमिक स्वास्थ्य केन्द्र रबीलाई अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको थियो । योङहाङका अनुसार चालु आर्थिक वर्षमै यी दुई स्थानमा अस्पताल निर्माणका लागि भवन निर्माणको ठेक्का लाग्नेछ ।
नयाँ निर्णय भएका अस्पतालको भवन निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु हुनेछ । मन्त्री नेम्वाङको पहलमा जिल्लाका सबै स्थानीय तहमा अस्पताल निर्माण हुने भएपछि जिल्लावासील खुशी ब्यक्त गरेका छन् । जिल्लामा ५० शैय्याको जिल्ला अस्पताल भवन समेत निर्माण भइरहेको छ ।
जिल्ला समन्वय समिति सहित सरोकारावाला निकाय तथा जिल्लाबाट निर्वाचित सांसद्हरुले जिल्ला अस्पताललाई एक सय शैय्यामा स्तरवृद्धि गर्न समेत पहल गरिरहेका छन् । सबै स्थानीय तहमा अस्पताल निर्माण भएपछि जिल्लाको सार्वजनिक स्वास्थ्यको अवस्थामा सुधार हुने तथा नागरिकले आधारभूत स्वास्थ्य सेवा आफ्नै घर–आगनबाट प्राप्त गर्न सहज हुने मन्त्री नेम्वाङले विश्वास समेत ब्यक्त गर्नुभएको छ ।
Discussion about this post