चालु आर्थिक वर्ष २०७६/०७७ मा याङवरक गाउँपालिका भित्रका विद्यालयहरुमा १२ वटा ब्लक र शौचालय निर्माण सम्पन्न भएको छ ।
याङवरकका वडा नं. १ को विष्णु माध्यमिक विद्यालय, वडा नं. ३ को जनज्योती आधारभूत विद्यालय फाक्लुङ, वडा नं. ३ कै इन्द्रावती आधारभूत विद्यालय सामाङ्खू, वडा नं. ३ कै गुप्तेश्वर माध्यमिक विद्यालय, वडा नं. ५ को भानु आधारभूत विदालय याङ्सिबुङ र वडा नं. ५ कै शिरिसे आधारभूत विद्यालय शिरिसेमा ब्लक निर्माण सम्पन्न भएको हो । यीमध्ये विष्णु मावि र गुप्तेश्वर माविमा दुई÷दुई वटाका दरले ब्लब निर्माण भएको याङवरक गाउँपालिका शिक्षा शाखाका प्रमुख सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।
यस्तै याङवरक–३ को वुद्ध आधारभूत विद्यालय चोथ्रोक तथा वडा नं. ५ को शिरिसे आधारभूत विद्यालयमा शौचालय निर्माण सम्पन्न भएको छ । विद्यालयहरुमा यी भौतिक संरचना निर्माणमा एक करोड २६ लाख रुपैयाँ विनियोजन भएको गौतमले जानकारी दिनुभयो ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारी तथा लकडाउनका कारण शिक्षा शाखाका केही कार्यक्रमहरु प्रभावित समेत भएका छन् । वार्षीक शैक्षिक कार्यक्रमहरुको अन्त्य र सुरुआतको वीचमा सञ्चालन गर्नुपर्ने कार्यक्रमहरु प्रभावित भएको गौतमले वताउनुभयो ।
बालविकाससम्बन्धी तालिम, अभिभावक अन्तरकृया, सेनिटरी प्याड निर्माण तालिम, शिक्षकहरुलाई कम्प्युटर र लेखा ब्यवस्थापन तालिम सञ्चालन गर्न समस्या परेको गौतमले वताउनुभयो । याङवरक गाउँपालिकामा रहेका ४० वटामध्ये १२ वटा विद्यालयहरुमा शिक्षक तथा कर्मचारीको इ–हाजिरी सुरु भएको छ । बाँकी विद्यालयहरु क्रमशः इ–हाजिरीको प्रवन्ध गर्दै लैजाने गौतमले वताउनुभयो ।
जिल्लामै पहिलो आवाशीय विद्यालय पनि याङवरक गाउँपालिकामा सञ्चालनमा रहेको छ । २०७६ भदौ २४ गते आवाशीय विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि गाउँपालिकाबाट पारित भएपछि याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवाशीय विद्यालय सञ्चालनमा रहेको छ । आवाशीय विद्यालयमा हाल २५ जना बालबालिका, एक जना भान्से, एक जना वार्डेन रहेका छन् । आवाशीय विद्यालयमा रहने बालबालिकालाई ट्युशन कक्षाको ब्यवस्था समेत गरिएको छ ।
भौगोलिक विकटता तथा विद्यालय पुग्न समस्यामा परेका कृष्ण आधारभूत विद्यालय चिङ्मा, जनचेतना आधारभूत विद्यालय खर्चगाउँ र तिम्बुपोखरी आधारभूत विद्यालय बर्मेका बालबालिकाहरु यहाँ आवाशीय विद्यालयमा बसेर अध्ययन गरिरहेका छन् । यस्तै गाउँपालिका भित्र अतिविपन्न परिवारका, सडक बालबालिकालाई समेत उक्त आवाशीय विद्यालयमा राखेर पठन–पाठन गराउने उद्देश्यले आवाशीय विद्यालय सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाले यहाँ राख्ने विद्यार्थीको मापदण्डका लागि प्राथमिकताका आधार तोकेको छ । यहाँ रहने बालबालिकाका लागि खाजा, खाना, लत्ता कपडा लगायत सबै कुराको प्रवन्ध याङवरक गाउँपालिकाले मिलाएको छ । स्थानीय तह निर्माण पछि प्रदेश नं. १ मै स्थानीय तहबाट सञ्चालित यो पहिलो आवाशीय विद्यालय समेत हो ।
Discussion about this post