थर्पू, (याङवरक)
खानेपानीको समस्या भोगिरहेको पाँचथरको याङवरक गाउँपालिकाको केन्द्र थर्पू बजार तथा आसपासको क्षेत्रका लागि खानेपानी आयोजना निर्माण हुने भएको छ ।
थर्पू बजार सहित आसपासका क्षेत्रमा खानेपानीको प्रवन्ध गर्न चिण्डे असिने वृहत खानेपानी आयोजना निर्माणको प्रकृया सुरु भएको हो । याङवरक गाउँपालिकाले संघीय सरकारको सहयोगमा खानेपानी आयोजना निर्माणका लागि टेण्डर प्रकृया पूरा गरेको छ ।
पहिलो चरणमा मुहानबाट रिजर्भ ट्याङ्कीसम्म पानी ल्याउन टेण्डर भएको हो । उक्त कार्यका लागि कूल लागत ७७ लाख रुपैयाँ रहेकामा ५६ लाख ८६ हजार रुपैयाँमा पिङ्की कन्स्ट्रक्सन ताप्लेजुङले ठेक्का पाएको छ ।
पहिलो चरणमा मुहानबाट ६ किलोमिटरको दूरीमा रहेको रिजर्भ ट्याङ्कीसम्मका संरचना निर्माण हुने याङवरक गाउँपालिकाका इन्जिनियर शरद दाहालले जानकारी दिनुभयो ।
बहुवर्षीय आयोजनाको रुपमा रहेको यस आयोजनाको बाँकी काम भने आगामी आर्थिक वर्षमा सुरु हुनेछ । याङवरक गाउँपालिकाको केन्द्र थर्पू बजार सहित आसपासका १२९ घरका लागि उक्त खानेपानी आयोजनाको निर्माण सुरु भएको हो ।
आयोजना निर्माणपछि प्रत्येक घरमा धारा जडान हुने तथा मिटर प्रणाली प्रयोग हुने इन्जिनियर दाहालले वताउनुभयो । आयोजना निर्माणपछि सञ्चालनको जिम्मा स्थानीय उपभोक्ता समितिले पाउनेछ ।
थर्पू बजार क्षेत्र विस्तार भएको लामो समय वितेपनि खानेपानी ब्यवस्थित हुन सकेको थिएन् । खानेपानीको समस्याको विषय लामो समयदेखि कायम रहेकामा गाउँपालिकाको पहलमा संघीय सरकारले आयोजना निर्मामा सहयोग गरेको थियो ।
याङवरक गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सहरनन्द योङहाङले लामो समयदेखिको खानेपानीको समस्या हल गर्न पाउनु खुशीको विषय भएको वताउनुभयो ।
Discussion about this post