क्याटलान क्लब बार्सिलोनाले क्लबकै पूर्व खेलाडी तथा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रशिक्षकको भूमिकामा नियुक्त गर्ने भएको छ ।
ला लिगामा उपविजेता बनेको बार्सिलोना च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेसँगै यस सिजन उपाधिविहिन बनेको थियो । झन्डै डेढ दशकपछि उपाधिविहिन बनेको बार्सिलोनाले टोलीमा अब आमुल परिवर्तन ल्याउने संकेत पनि दिएको थियो । त्यसका लागि अध्यक्ष जोसेप मारिया बार्टोमेउले प्रशिक्षक किके सेटिनको बर्खास्ती पक्का रहेको बताएका थिए ।
यसै जनवरीमा एर्नेस्टो भालभेर्डेको स्थानमा नियुक्त भएका सेटिनले बार्सिलोनामा अपेक्षित नतिजा दिलाउन सकेनन् । नियुक्तिको सुरुवातदेखि नै खेलाडीसँग राम्रो सम्बन्ध बनाउन नसकेका उनले मैदानभित्र पनि नतिजा दिन नसक्दा लामो समय टिक्न सकेनन् । सोमबार दिउँसो औपचारिक बोर्ड बैठक बसेपछि क्लबले आधिकारिक रुपमा निर्णय सार्वजनिक गर्ने बुझिएको छ ।
यता स्पेनिस पत्रकार गिलिएम बालागेका अनुसार क्लबले रोनाल्ड कोम्यानलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गर्ने पक्का भएको छ । क्लबसँग निकै निकट सम्बन्ध रहेका पत्रकार बालागेले यसअघि पनि क्लबसँग सम्बन्धित खबरहरु केहि अघि नै थाहा पाउँदै आएका छन् । उनका अनुसार माउरिसियो पोचेटिनोलाई बार्सिलोनाले सम्पर्क गरेपनि कोम्याननै प्रशिक्षकको रुपमा आउने भएका छन् ।
यसअघि इंग्लिस क्लब एभरटन र साउथह्याम्पटनको प्रशिक्षक रहिसकेका कोम्यान हाल नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा कार्यरत छन् । यसअघि पनि बार्सिलोनाले उनलाई प्रशिक्षक बन्ने प्रस्ताव गर्दा उनले युरो २०२० सकिएपछि मात्र आउन सक्ने बताएका थिए । तर युरो कोरोनाले गर्दा एक वर्षका लागि स्थगित भएसँगै कोम्यानले निर्णय परिवर्तन गरेका हुन् ।
कोम्यान आफैंले पनि बार्सिलोना जाने इच्छा भएपनि नेदरल्यान्ड्ससँगको सम्झौता तोड्न नसक्ने बताएका थिए । उनको बार्सिलोनामा नियुक्तिसँगै राष्ट्रिय टोलीमा भने के गर्छन भन्ने प्रष्ट भइसकेको छैन । कोम्यान आइतबार बार्सिलोना एअरपोर्टमा देखिएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
एजेन्सि
Discussion about this post