मेसीले बार्सिलोनाका उच्च व्यवस्थापनलाई नै आफ्नो मुख खोलेर क्लब छाड्ने मनसाय देखाएका छन् । यस्तोमा अब त्यस्तो दिन धेरै टाढा छैन, जति बेला पनि हाम्रो आँखाअगाडि विश्व फुटबलका सबैभन्दा ठूला खेलाडी स्थानान्तरण भएको देखिन सक्नेछ ।
म्याड्रिड — लियोनल मेसी बार्सिलोना छाड्न चाहन्छन् । क्लबका सबै स्रोतले यस्तै भन्न थालेका छन् । यसका लागि के उनलाई दोष दिन सकिन्छ त ? यसको उत्तर भने सजिलो छैन । बार्सिलोनामा खराब व्यवस्थापन अब नयाँ रहेन ।

लगातारको यस्तै गलत कामको नतिजा त हो, युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना टिम बायर्न म्युनिकको हातबाट पराजित हुनु । त्यो पनि ८–२ को अन्तरमा । अहिले केही स्पेनी मिडियाले दाबीसँगै भन्न थालेका छन्, अब मेसी बार्सिलोनामा रहने छैनन् ।
यिनै स्पेनी मिडियाले नेयमर बार्सिलाना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भनेको थिए । सुरुमा त्यसलाई पनि पत्याउने थिएनन्, तर त्यस्तै भयो । अब यिनै मिडियाले नजिकको स्रोत प्रयोग गरेर मेसीबारे समाचार लेखिरहेका छन् । यो समाचार किन पनि सत्यता नजिक छ भने अर्को वर्षसम्म बार्सिलोना र मेसीबीचको अनुबन्ध सकिँदै छ । त्यसपछि त मेसी अर्को कुनै पनि क्लब जान स्वतन्त्र हुनेछन्, कुनै कानुनी झमेलाबिना नै ।
मेसीले बार्सिलोनाका उच्च व्यवस्थापनलाई नै आफ्नो मुख खोलेर क्लब छाड्ने मनसाय देखाएका छन् । यस्तोमा अब त्यस्तो दिन धेरै टाढा छैन, जति बेला पनि हाम्रो आँखाअगाडि विश्व फुटबलका सबैभन्दा ठूला खेलाडी स्थानान्तरण भएको देखिन सक्नेछ । मेसी अहिलेको पुस्ताका खेलाडीमध्ये सबैभन्दा उत्कृष्टमा गनिन्छन् । धेरैका लागि उनी सर्वकालीन महान् खेलाडीमध्ये एक हुन् । उनले आफ्नो व्यावसायिक खेलजीवनको सबै समय एउटै क्लबमा बिताएका छन् ।
अब यसैमा पूर्णविराम लाग्न लागेको छ । बार्सिलोना आफैंमा उत्तिकै ठूलो र सफल क्लब हो, तर उसले पनि मेसीलाई रोक्न केही गर्न नसक्ने स्थिति बन्दै छ । अनि के पनि तय छ भने विश्वका लगभग सबै क्लबले मेसी आफ्नो क्लबमा आऊन् भन्ने चाहना राख्नेछन् । फरक के मात्र हो भने उनको तलब खुसीले बेहोर्न सक्ने को हो भन्ने मात्र हो । पूरा घटनाक्रम सारमा भन्ने हो भने विश्वको सबैभन्दा ठूलो क्लब र यसका सबैभन्दा ठूला स्टार सबै जटिल मोडमा छन् ।
अहिलेसम्म जति पनि अनुमान बाहिर आए पनि एउटा तथ्य भने निश्चित छ । त्यो हो, सन् २०२०–२१ को सिजनको सुरुमा मेसी बार्सिलोनामै हुनेछन् । उनले बार्सिलोनामा बिताएको दुई दशक पनि हुनेछ । उनले साँच्चै बार्सिलोना छाड्न चाहे भने उनको गन्तव्य कुन क्लब हुनेछ त ? यसको उत्तर पनि सजिलो छैन तर सबैले अनुमान गर्न भने थालेका छन् । यसले अबको केही समय विश्व फुटबललाई आकर्षित गरिरहने तय छ ।
उनको सबैभन्दा बलियो गन्तव्य हुन सक्छ, म्यानचेस्टर सिटी । यसको एकमात्र ठोस कारण हो प्रशिक्षक पेप ग्वार्डिओला । सिटी आफैं युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि युरोपेली च्याम्पियन्स लिग जित्न चाहन्छ, अहिलेसम्म यो पर्खाइमै छ । ग्वार्डिओलाको इच्छा पनि यही हो, तर यसै सिजन पनि क्लबले धोका खाइसकेको छ । सिटीसँग सबथोक छ, भौतिक पूर्वाधारदेखि खर्च गर्नसक्ने क्षमता पनि । छैनन् त, खाली मेसीजस्ता खेलाडी । यी अर्जेन्टिनी खेलाडी ३३ वर्षका भइसके, अब उनले त्यत्तिकै राम्रो खेल्ने सम्भावना केही सिजनलाई मात्र हो । यस्तोमा क्लबले मेसीलाई किन्न वा अनुबन्ध गर्नु अगाडि धेरैपल्ट सोच्ने पनि छ । फेरि भन्नेहरू के पनि भन्छन् भने मेसीका लागि इंग्लिस प्रिमियर लिग ठीक छैन, यो लिगमा जसरी फुटबल खेलिन्छ, त्यो मेसी सुहाउँदो छैन । तथापि सिटी नै यस्तो एक क्लब हो, जसले मेसीको चर्को न चर्को तलब बेहोर्न सक्छ, किनभने ऊसँग अरबौं पैसा छ ।
अरबौं पैसा त पीएसजीमा पनि छ । त्यसैले यो फ्रान्सेली क्लब पनि मेसीलाई अनुबन्ध गर्न तयार हुन सक्नेछ । मेसी साँच्चै पेरिस आउन तयार भयो भने टिम त गज्जब नै बन्नेछ, नेयमर, केलियन एमबाप्पे अनि मेसी । यो त लगभग कुनै समय बार्सिलोनामा चम्केको नेयमर, स्वारेज र मेसीजस्तैको जोडी हो । तर पीएसजीलाई लिएर एउटा समस्या छ । पीएसजका ठूला नामका लागि रौनकता खाली च्याम्पियन्स लिगमात्र हो, फ्रान्सको घरेलु लिग अब्बल दर्जाको छैन ।
मेसीका लागि गन्तव्य अन्य दुई क्लब पनि हुनसक्छ, म्यानचेस्टर युनाइटेड र इन्टर मिलान । म्यानचेस्टर त विश्व फुटबलको सबैभन्दा ठूलो ब्रान्ड भयो नै । तर पछिल्लो समय म्यानचेस्टर केही ओरालो लागेको छ, त्यसैले मेसी आएमा म्यानचेस्टर फेरि पुरानै क्लब हुनसक्छ । अनि इन्टर मिलानका पनि ठूलाठूला आकांक्षा छन् । क्लबमा पैसा पनि छ । फेरि मेसीका सबैभन्दा ठूला प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो पनि इटालीमै छन् । उनी युभेन्ट्सका लागि खेलिरहेका छन् । दुवैको भेट इटालीमा भयो भने त्यो पनि त गज्जब हुनेछ ।
Discussion about this post