पाँचथर, ५ भदौ
नागरिकताविहीन अवस्थामा रहेका पाँचथरको हिलिहाङ–७ का चन्द्रलाल बराइली र रत्नलाल बराइलीले क्रमशः ६० र ४१ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
हिलिहाङ–७ भारपाको फुलुवाका बराइली दाजुभाइले भाञ्जा राजकुमार सिन्चेउरीको पहलमा गत साउन २७ गते जिल्ला प्रशासन कार्यालय पाँचथरबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् । दुवै दाजुभाईको परिवार नै हालसम्म नागरिकताविहीन थियो । नागरिकताको प्रमाणपत्र नहुँदा चन्द्रलालका चार जना छोराछोरीको पढाईमा समस्या हुँदै आएको थियो ।

‘कसरी भयो परिवार नै नागरिकताविहीन ?’
उक्त परिवारलाई नागरिकताको प्रमाणपत्र दिलाउन पहल गर्नुभएका जिल्ला समन्वय समिति पाँचथरका सन्तोष सिन्चेउरीका अनुसार वर्षौँअघि बराइली परिवार फालेलुङ गाउँपालिका–८ लिगिम्बाबाट बसाई सरेर हिलिहाङको भारपा गएको थियो ।
बराइलीका बाबु आमाको नागरिकताको प्रमाणपत्र नभएकै अवस्थामा मृत्यु भयो । लिगिम्बामा उक्त परिवारका आफन्त तथा दाजुभाइ बसोबास नगर्ने भएकाले आफन्तको पहिचान गर्न समस्या परेको थियो । बराइली परिवार आफैँले आफन्तको खोजी गरी नागरिकताको प्रमाणपत्र लिनसक्ने थिएन् ।

बराइलीका चार जना छोराछोरीको जन्मदर्ताको प्रमाणपत्र नहुँदा पठन–पाठनमा समस्या भएपछि भारपाका स्थानीयले बावुआमालाई नागरिकताको प्रमाणपत्र दिलाउन पहल गरेका थिए । तर बराइली परिवारको तीन पुस्ता खुल्ने आफन्त भेटिएनन् ।
जिल्ला प्रशासन कार्यालयमा उक्त परिवारसँग सम्वन्धित कुनै कागजात समेत फेला परेनन् । बराइली परिवारलाई नागरिकताको प्रमाणपत्र दिलाउन पहल गर्नुभएका हिलिहाङ–७ का रुद्र तामाङले भन्नुभयो, “भाग्यले अहिले आफन्त भेटिए र नागरिकता बन्यो ।”
भाञ्जाद्वारा मावलीको पहिचान गरी प्रमाणपत्रका लागि पहल

जिल्लाको फालेलुङ–३ मच्छेबुङमा घर भई भारतमा रोजगारी गर्ने बराइलीका भाञ्जा राजकुमार सिन्चेउरी कोभिड–१९ सङ्क्रमणको महामारीका कारण घर फर्केको समयमा आफ्ना मावलीको खोजी गर्न थाल्नुभयो ।
“कुनै पनि कागजात नभएको र अत्यन्तै कमजोर आर्थिक अवस्थामा मामाको परिवारलाई भेट्टाएँ”, बुधवार फिदिममा भेटिएका राजकुमारले भन्नुभयो, “मामाका अन्य दाजुभाइको खोजी गरी सनाखत गराएँ । झण्डै एक महिनाको प्रयासले नागरिकता दिलाउन सफल भयौँ ।” फालेलुङ–७ भालुखोपका देवीनाथ विश्वकर्मा बराइली परिवारसँग तीन पुस्ता भित्रका आफन्तको रुपमा पहिचान भएपछि बराइली दाजुभाईको नागरिकताको प्रमाणपत्र बनेको हो ।

उक्त परिवारको पुख्र्यौली थलो फालेलुङ गाउँपालिका वडा नं. ८ को कार्यालयले विगतमा बराइलीका पुर्खाहरुको जग्गा रहेको तथा बसाईँ सरेर भारपा गएको स्थानीयको भनाई र मालपोत कार्यालयमा भेटिएका जग्गा विक्रीसम्बन्धी प्रमाणका आधारमा सर्जिमिन मुचुल्का गरी नागरिकताको प्रमाणपत्रका लागि सिफारिस गरेपछि नागरिकताको प्रमाणपत्र प्राप्त भएको राजकुमारको भनाई छ ।
लिगिम्बामा बराइली दाजुभाइको बसोबास रहेको भनि सनाखत तथा प्रमाणित गर्न पूर्वमन्त्री श्रीप्रसाद जबेगू, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फालेलुङका इन्चार्ज महेन्द्रहाङ जबेगू ‘फुङनिमा’, जिल्ला समन्वय समितिका सदस्य सन्तोष सिन्चेउरी, वडाध्यक्ष पदमकुमार फागो ‘पपिन्द्र फागो’, नेकपाका नेता चन्द्र माङ्मू, नेकपा फालेलुङ–८ का अध्यक्ष श्रीहाङ केरुङ लगायतले पहल तथा ठूलो सहयोग पुर्याएको सिन्चेउरीले वताउनुभयो ।
अत्यन्तै कमजोर आर्थिक अवस्था, स्थानीयद्वारा सहयोग गर्ने वचन

हिलिहाङ–७ भारपामा बस्दै आएका बराइली परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । दाजुभाइकै आफ्नो जग्गा जमिन छैन् । दाजु चन्द्रलाल एक स्थानीयको गोठमा बसोबास गर्दै आएका छन् भने भाइ रत्नलाल ससुरालीमा बस्दै आएका छन् ।
चन्द्रलालका श्रीमती र चार जना छोराछोरी छन् । जसमध्ये जेठो छोराले जन्मदर्ताको प्रमाणपत्र नहुँदा कक्षा–८ बाट पढाई छाडेर सवारीमा सहचालकको रुपमा काम गर्दै आएका छन् । चन्द्रलाल शारीरिक रुपमा अशक्त छन् । उनका भाइ रत्नलालका सन्तान छैनन् ।
आर्थिक विपन्नता र चेतनाको अभावले वर्षौँदेखि दुई परिवार छरछिमेकीको सहयोग तथा सामान्य ज्याला मजदुरी गरेर चलिरहेको हिलिहाङ–७ का स्थानीय अइन्द्र इधिङ्गोको भनाई छ । “अब कागजात बने । सरकारी सेवा सुविधा सहित अन्य सहयोग गर्नुपर्ने आवश्यकता छ”, इधिङ्गोले भन्नुभयो ।

दुवैको नागरिकताको प्रमाणपत्र फालेलुङ–८ को ठेगानामा बनेपछि बसाईँसराईको प्रमाणपत्र बनाई हिलिहाङ–७ नै लगिएको भाञ्जा राजकुमारले वताउनुभयो । दाजुभाइकै नागरिकता बनेपछि गाउँपालिका तथा स्थानीयवासीले दुवै परिवारलाई घर तथा जग्गाको प्रवन्ध गर्ने वताएका छन् ।
“कुनैपनि कागजात नहुँदा ठूलो समस्या थियो”, बराइली परिवारलाई सहयोग गर्दै आउनुभएका हिलिहाङ–७ का रुद्र तामाङले भन्नुभयो, “अब जग्गा जमिनको प्रवन्ध गर्न र घर बनाउन पहल गर्छौँ ।”
(तस्वीरहरु :– पहिलो तस्वीरमा चन्द्रलाल र रत्नलाल बराइली दाजुभाइ, दोश्रोमा बराइली दाजुभाइका साथ सनाखत गरिदिने देवीनाथ विश्वकर्मा र नागरिकताका लागि पहल गरिदिने राजकुमार सिन्चेउरी, तेश्रोमा बराइली दाजुभाइका साथ सनाखत गरिदिने देवीनाथ विश्वकर्मा र नागरिकताका लागि पहल जि.स.स. सदस्य सन्तोष सिन्चेउरी, चौथोमा चन्द्रलाल र राजकुमारका साथ नेकपाका नेता महेन्द्रहाङ जबेगू, पाँचौँमा बसाइसराईँ लिन वडा कार्यालय पुगेका बराइली दाजुभाइका साथ वडाध्यक्ष पदमकुमार फागो सहित स्थानीय, छैठौँमा चन्द्रलालको परिवार र सातौँमा चन्द्रलाल ।)
Discussion about this post