विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको चर्काे आलोचना भएसँगै उनले पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरु सिधै घर जान सक्ने स्पष्ट पारेका हुन । कोरोना संक्रमण कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने मन्त्री भट्टराईले बताए ।
सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो । पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि भने उद्धार उडान निरन्तर गरिने मन्त्री भट्टराईले जनाएका छन । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले भने होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ ।
अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको समेत दावी गरे । हाेटेल क्वारेन्टिनमा विभिन्न मापदण्ड ताेकिएकाे र नियमित सरकारकाे निगरानि रहने समेत मन्त्री भट्टराईले जनाएका छन। विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने र हाेटेल क्वारेन्टिन काे खर्च समेत सरकारले ब्यवस्था गरिदिने समेत जानकारी गराएका छन। परिस्थिति अनुकुल भएपछि अन्य मुलुकहरुमा समेत अवस्था हेरेर नियमित उडान सुरु हुने पनि उनले बताएका छन ।
Discussion about this post