कार्तिक-१, डेस्क । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपाली हिन्दुहरुको महान् पर्व बडा दशैँ आज(शनीवार)देखि सुरु भएको छ । वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजाआरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ(यव) रोप्ने गरिन्छ। जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाउने चलन छ ।
आजैका दिन विधिपूर्वक घट(घडा) स्थापना गरी त्यही घडामाथि शक्ति स्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ । घटस्थापनाको साइत आज(शनिबार) बिहान ११:४६ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तै यो वर्षको टीकाको साईत भने कात्तिक १० गते सोमबार बिहान १०:११ बजेको शुभ रहने समितिले जनाएको छ ।
Discussion about this post