कार्तिक-२ गते, २०७७ । ‘दशै घरआगनमै आईसकेको थियो । घर पोत्ने, छ्याप्ने, रङ्गरोगनको काम धुमधाम चलिरहेको थियो । घरका कुना कुनामा माकुराले लगाएका जालोहरु झार्ने काम सकेर अब कमेरो माटो, चूना र रातोमाटो लगाउनलाई तयार पार्दै थिए अचानक काठमाडौंबाट मेनपावरको फोन आयो ।’ पाँचथर याङवरक-४ थर्पूका कृष्ण अधिकारीले ४ वर्ष पहिलेको दशै स्मरण गर्छन्- ‘भोली पल्टनै हिड्नु पर्ने भयो, हत्तपत्त सबै काम थाती राखेर टिकट लिन मेदिबुङ्ग बजार पुगे ।’ हुन त निकै समयको प्रतिक्षा पछि मलेसियाको भिसा लागेको थियो त्यो पनि दशैंकै मुखमा उड्नु पर्ने । नजाउ कसरी जाउ दशैंका बेला । त्यहि दशैदेखि हो कृष्णले अहिलेसम्म परिवारसंगै मनाउन नपाएको ।
‘साच्चिकै दशै भन्नासाथ परिवार, इष्टमित्र, आफन्तकै याद आउने रहेछ । दशैं आयो कि परिवारको यादले सताउछ, आफ्नै जन्मभूमिको सम्झनाले रुवाउदो रहेछ ।’ विगत ३ वर्षदेखि परिवारसंगै बसेर दशैं मनाउन नपाएका ताप्लेजुङ्ग सिरिजङ्घाका शान्तिकला गुरुङ दशैंको तीतो अनुभव यसरी बाढ्छन् – ‘दशैं एउटा मौसम जस्तै लाग्छ, जुन मौसम यहाँ आएको महसुन नै हुन्न ।’ बर्खायाममा घर छोडेर मलेसियाको चेरासमा पुगेका गुरुङलाई अझैपनि नेपालमा बर्खा सकिएको छैन जस्तो लाग्ने रहेछ, भन्छन् – ‘मैले देश छोड्ने बेला घरमा रोपाइँको मैझारो भएकै थिएन, यहाँ हरेक दिन मलाई त्यहि रोपाइँको याद आउछ, अझैपनि रोपाइँ सकिएको छैन जस्तो मात्रै लागी रहन्छ, दशैं आउन अझै निकै छ जस्तो लाग्ने तर दशै आएर नि गईसक्दो रहेछ ।’

हुन त परदेशमा पनि साथीभाईसंग मिलेर रमझम गरी दशैं मनाउने कोशिश त गरिन्छ नै । नजिक रहेका साथीसंगी जमघट गरेर बढी उमेरकाले सानालाई टीका लगाई दिने, मीठा-मीठा परिकार बनाएर खादै रमाईला, तीता-मीठा अनुभवहरु साटासाट गर्ने गरिन्छ । कतिपय ठाउँमा दशैं लक्षित नेपाली कार्यक्रमहरुको आयोजना पनि गरिएका हुन्छन् । तरपनि परिवारसंगै बसेर मनाए जस्तो त परदेशमा कहाँ हुन्छ र! झन् विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा यो पटकको दशैं साच्चिकै खल्लो हुने भएको छ । ‘कोरोनाले गर्दा साथीसंगी भेटघाट कार्यक्रम पनि छैन’ दक्षिण कोरियाको याङ्सान-सीमा कार्यरत पाँचथर याङवरककै दिनेश योङहाङ भन्छन् – ‘अहिले त कतै निस्किनु पनि डरमर्दो छ, बिदा नि मिल्दैन, त्यसैले दशैं कोठामै हुन्छ।’ उसै त दशैं तिहार जस्ता ठूला चाडपर्वले पारिवारिक दूरीको याद दिलाइ रहेका परदेशीलाई यो सालको दशैले त झन् पीडा थपेर जाने भयो । कोरोनाको महामारीकै कारण यो साल दशैमा छुट्टी मिलाएर घर जाने योजना स्थगित भएको सुनाउछन् युएईको रास अल खेईमामा कार्यरत ईलाम फुङनामका रोशन श्रेष्ठ- ‘पोहोर सालनै जान्छु भनेको तर कम्पनीले अर्को साल छुट्टी दिन्छु भन्यो, अब अहिले घर जाने टिकट मिलेकै छैन । यहाँ कस्लाई के भन्ने? यस्तै रहेछ परदेशीको दशैं ।’ कसरी मनाउने त परदेशमा दशैं? श्रेष्ठको मात्र नभएर प्राय धेरैको एउटै जवाफ आउछ, अनेकौं बाध्यतालाई लुकाएर एक झुटो मुस्कान सहित घरपरिवारलाई फोन गर्ने अनि एउटै बाहाना बनाउने बस् – ‘यो साल छुट्टी मिलेन अर्को दशैं पक्कै संगै मनाउला ।’
Discussion about this post