कार्तिक-७, डेस्क । नवरात्रिको सातौं दिन अर्थात् फूलपाती आज(शुक्रवार) घर घरमा फुलपाति भित्राएर मनाईदै छ । फूलपाती भित्र्याएसंगै नेपाली हिन्दुहरुको बडादशैंको विशेष दिन पनि आजबाट सुरु हुन्छ । यो वर्षको दशै बिदा पनि आजदेखि सुरु भएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको पाईन्छ । फुलपातीका दिन विभिन्न शक्तिपिठहरूमा पुजाआजा गरिदै आएता पनि यो वर्ष कोभिड-१९ का कारण घरमै पुजाआजा गरेर मनाईदै छ । कोरोना भाइरस सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरिसकेको छ ।
यसैबिच, फूलपातीका दिन पाँचथरको याङवरक-४, थर्पूमा निसानको पुजाआजा गरेर फूलपाती भित्र्याईने गरिन्छ । बिहानै निसानघरबाट निसान निकालेर मौलोमा लगी पुजाआजा गरेर फूलपाती भित्र्याएपछि पर्सिपल्ट अर्थात् महानवमीका दिनसम्म फेरी निसानघरमै राख्ने चलन छ ।
Discussion about this post