कार्तिक-९, डेस्क । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज(आईतवार) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ ।
आज महानवमीका दिन गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । विगतका वर्षहरुमा दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिदै आईएता पनि यो वर्ष भने घरमै पुजाआजा गरिने भएको छ । कोभिड-१९ का कारण दशैंमा गरिने सम्पूर्ण पुजाआजा पनि घरमै गर्नु पर्ने भएको हो ।
पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिन बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ । यता, पाँचथरको याङवरक-४ थर्पूमा विगतका वर्षहरुमा भव्य लाग्ने गरेको निशान मेला आज नलाग्ने भएको छ । मेला नलागे पनि विधिवत्त् रुपले निशानको पुजाआजा गरी राँगाको बली भने दिईने भएको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को मापदण्डलाई पालना गर्दै १० जना भन्दा कम्तीको टोलीले मार हान्न लागेको स्रोतले जनाएको छ ।
र यो पनि,
Discussion about this post