कार्तिक-१०, डेस्क । आज(सोमवार) बडादशैँको दशौँ दिन अर्थात् विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ । आज आश्विन शुक्ल दशमी दशैंकै विशेष दिन पनि हो । आज घरका मान्यजन, आफूभन्दा ठूलाबडाको हातबाट टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन छ ।
गत कार्तिक १ गते घरघरमा घट(कलश)को स्थापना गरी पूजाकोठामा जमरा राखी सुरु भएको बडादशैँको विशेष दिन आज हो । विजयादशमीका दिन दुर्गा विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आशीर्वाद लिने गरिन्छ । आज टीका लगाउनलाई कुनै साइत कुर्नु नपर्ने समितिले जनाएको छ । साइतनै कुर्नेहरुका लागि भने बिहान १० बजेर १९ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दशैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ ।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ । आफ्नो घरमा टीका लगाइसकेपछि नेपाली समाजमा मामाघर, ससुराली लगायत आफन्तजन कहाँ टीका ग्रहण गर्न पुग्ने चलन रहँदै आएको छ ।
यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने आजको कार्यक्रम स्थगित भएको छ । राष्ट्रपति कार्यालयले यसअघिनै शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको हो । विगतका वर्षहरुमा राष्ट्र प्रमुखले सर्वसाधारणलाई टीका लगाईदिने चलन रहिआएको छ ।
Discussion about this post