याङवरक । याङवरक गाउँपालिकाको केन्द्र थर्पू बजार सहित आसपासका क्षेत्रमा खानेपानीको सुविधा पु¥याउन निर्माणाधीन चिण्डे असिने खानेपानी आयोजना निर्माणको कार्य धमाधम चलिरहेको छ ।
गत जेठमा निर्माण सम्झौता भई यो आयोजनाको मुख्य पाइपलाइन र सो अन्तर्गतका संरचनाहरु निर्माणको काम भइरहेको छ । उक्त खण्डको हालसम्म करीब ८० प्रतिशत काम पूरा भएको छ । पिङ्की कन्स्ट्रक्सनसँग ५६ लाख ८६ हजार ३२५ रुपैयाँमा आयोजनाको मुख्य पाइपलाइन खण्ड निर्माणको ठेक्का सम्झौता भएको छ । यहि मंसिरभित्र उक्त खण्डको काम सम्पन्न गर्ने गाउँपालिका र निर्माण कम्पनीको सम्झौताअनुसार निर्माणको कार्य अगाडि बढिरहेको हो ।
मुख्य पाइपलाइन ४.६२ किलोमिटर निर्माण कार्य करीब पूरा भएको छ । आयोजनामा पानीको मुलमा दुई वटा ट्याङ्की, तीन वटा सङ्कलन ट्याङ्की, एउटा चाप नियन्त्रण ट्याङ्की, वितरण च्याम्बर र अन्य दुई वटा ट्याङ्की निर्माणको कार्य समेत पूरा भएको छ । थर्पू बजार क्षेत्रमा खानेपानी वितरणका लागि बजार नजिकै ५० हजार लिटरको ट्याङ्की निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर माबोले जानकारी दिनुभयो ।

‘एक घर एक धारा’ को अवधारणाअनुसार आयोजना निर्माण हुनेछ । मुख्य पाइपलाइनखण्डको काम सकिएपछि वितरण लाइनको काम अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । याङवरक–५ मा रहेका पानीका मुहान स्थानीयवासीहरु पदमबहादुर माबो, भक्तबहादुर माबो, बालध्वज माबो र बागमति माबोले उपलब्ध गराउनुभएको हो ।
आयोजनामा प्रतिसेकेन्ड २.३३७ लिटर पानी प्रवाह हुनेछ । थर्पू बजार र आसपासको क्षेत्रले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकामा आगामी वर्षबाट आयोजना सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण कार्य अगाडि बढेको छ ।
Discussion about this post