रमेश किरण सापकोटा
याङवरकफोकस । पाँचथर याङवरकको माटोमा जन्मिएका सर्जकहरुको नाम लिने हो भने अग्रपंतिमा आउने एउटा नाम सुजन सेलिङ लिम्बु पनि हो । पत्रकारितामा पनि उत्तिकै चासो राख्ने सेलिङ विद्यार्थी जीवनकालमा राजनिती, साहित्य र पत्रकारितालाई संगसंगै अघि बढाउदै कलेजमा पनि आफूलाई उतिकै सकृय बनाईरहे ।
सेलिङले आफ्नो जन्मभूमिमा रहदा मात्रै नभएर वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब पुगेर पनि आफ्नो लेखन क्षेत्रलाई निरन्तरता दिईरहे । परदेशमा रहदा प्रवासी नेपालीहरुको विभिन्न संघ सस्थामा आबद्ध रहिसकेका सेलिङले मातृभूमिको जति माया स्वप्रेम कबितामा पोखे पनि आफुले कर्मभूमी बनाएको शहरलाई इङ्गित गर्दै “हाबिबी जेद्धा” शिर्षकमा लेखेर सुनाएको मीठो कबिता अझै यो पंक्तिकारको कानमा गुञ्जीरहन्छ । केही बर्ष अघि मात्रै हो सेलिङले पहिलो कृतिको रुपमा ‘युद्धले भुलेको बाकी युद्ध’ कविता सङ्ग्रह प्रकाशित गरेको, त्यसमा सफलता मिलेपछि हौसला बटुल्दै आफ्नो जन्मभूमी ओयामको विविध विषयलाई समेटेर खोजमुलक अर्को “ओयाम एक तस्बिर” नामक पुस्तक प्रकाशन गरिसकेका छन् । तीनै पुस्तकका बारेमा यो पंक्तिकारसंगको कुराकानीका क्रममा कार्तिक २४ गतेका दिन आफैले अध्ययन गरेको विद्यालय गुप्तेश्वर माविको सभाहलमा बिमोचन हुने बताएका छन् ।
के छ त पुस्तकमा ? सेलिङ बताउछन् -‘यो पुस्तकमा लेख्नै पर्ने तर कोहि कतैबाट नलेखिएको एउटा ऐतिहासिक तथा सुन्दर गाँउ ओयामको इतिहास भेटिन्छ । त्यहीँ ओयामका भूपु देखि हालसम्मका जनप्रतिनिधिहरु, ओयामका स्रष्टा र कृतीहरु, ओयामका सरकारी र निजि विद्यालयहरु, ओयामका ऐतिहासिक ब्याक्तित्वहरु, ओयामका समाजसेविहरु, ओयामका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु, ओयाममा सञ्चालित संघसस्थाहरू र यसको सकरात्मक उपलब्धिहरु तथा खेल जगत् र विविध पाईन्छ ।’ सेलिङका अनुसार पुस्तकमा यस्का अलवा केही नेपाली हस्ति साहित्यकारहरुको विचार, विश्लेषणका साथै ओयामलाई कर्मभूमी बनाएका ब्याक्तित्वहरुको लेखलाई पनि पुस्तकमा समेटिएको छ । वास्तवमै सेलिङको खोज, अनुसन्धान र मिहिनेतलाई नियाल्दा ‘ओयाम एक तस्बिर’ पुस्तक मात्रै नभएर आफ्नो मातृभूमिका लागि यो एउटा ऐतिहासिक दस्तावेज बन्नेमा दुई मत छैन । यो पंक्तिकारको मुरी-मुरी शुभकामना ।
Discussion about this post