भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले आइसोलेसन कक्षबाटै मन्त्रालयको कार्य प्रगतिको विषयमा छलफल गरेका छन्।
मन्त्री नेम्वाङले कोरोनाबाट संक्रमित भै मन्त्रालयबाट नियमित कार्य सम्पादन गर्न नसकेको अवस्थामा भर्चुअल प्रबिधिबाट आफू माताहतका कर्मचारीसँग छलफल गरेका हुन्।
मन्त्री नेम्वाङले चालु आर्थिक वर्षमा गरिसक्ने कामको तालिका निर्माण गर्न निर्देशिन दिएका थिए। विहीबारको कार्य प्रगति छलफलमा सम्बन्धित निकाय प्रमुखले मन्त्रीलाई साउनदेखिको कार्य प्रगतिको विषयमा जानकारी दिएका थिए।
रेल विभागले कार्तिक मसान्तसम्म सक्ने भनेका काम मंसिर १५ सम्म सक्ने विभागकी महानिर्देशक प्रमिला बज्रचार्यले जानकारी गराएकी छन्। मुख्यगरी पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अन्तगर्तको काकडाभिट्टा–इनरुवा खण्ड र वर्दिबास–इनरुवा खण्डको विषयमा मन्त्रिलाई जानकारी गराएकी थिइन्।
काँकडाभिट्टा–इनरुवा खण्डमा जग्गा अधिग्रहणको काम बाँकी रहेको छ भने वर्दिबास–इनरुवा खण्डमा रुख कटानका काम बाँकी रहेका छन्।
त्यसैगरी यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले योजना अनुसार नै अघि बढेको जानकारी दिएका छन्।
हमालले काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन आदेश राजपत्रमा प्रकाशन भैसकेको बताएका छन्।
त्यसैगरी स्मार्ट लाइसेन्स १४ लाख खरिद प्रकिया अघि बढेको, ट्याक्सीको मापदण्ड तयारी गर्ने अन्तिम चरणमा, उपत्यका भित्रने सवारी धोएर मात्रै भित्रन पाउने कार्यविधी बनिसकेको भन्दै मंसिर १५ भित्र टेन्डर आब्हान गरिसक्ने बताएका छन्।
उनले लामो र मध्यम दूरीको बसमा अनलाइन टिकेटिङ सिस्टम निर्माण गरिरहेको बताएका छन्।
त्यस्तै सडक विभागका महानिर्देशक केशब कुमार शर्माले बुधबारसम्म करिब १० प्रतिशत खर्च भएको बताएका छन्। उनले मनसुन असोज अन्तिमसम्म रहँदा धेरै ठाउँमा कालोपत्रे तथा ग्राभल गर्न समस्या भएको बताएका छन्। कार्तिक शुरु भएपछि निर्माणको प्रगती तीब्ररुपमा अघि बढेको बताएका छन्।
काठमाडौं उपत्यकाको गौशाला–चाविलमा कालोपत्रे शुरु हुने भनेकोमा निर्माण सामग्री ल्याउन अवरोध हुँदा काम हुन सकेको छैन। जिल्ला डिभिजन कार्यालय काठमाडौंले निर्माण सामग्री अन्य ठाउँबाट ल्याएर भएपनि कालोपत्रे गर्ने तयारी भएको जानकारी दिएको छ।
मन्त्री नेम्वाङले विभाग प्रमुख तथा आयोजना प्रमुखलाई भौतिक रुपमा प्रगति देखिनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले आफूले बनाएको कार्यतालिका अनुसार काम सम्पन्न गर्न भनेका छन्।
उनले कोभिडको बाहानामा काम नभएको भन्ने कुरा गर्न नपाइने बताएका छन्।
‘काठमाडौं उपत्यकाका स–साना कुरामा ध्यान दिँदै राष्ट्रिय गौरवको आयोजनामा ढिला सुस्ती हुनुहुँदैन,’ उनले भने ‘गौरवका आयोजनामा थोरै ढिला हुँदापनि ठुलो नोक्सानी हुनसक्छ।’
Discussion about this post