कार्तिक २२, याङ्वरकफोकस / सत्ताधारी पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालको आन्तरिक झगडा चरमविन्दुमा पुगेको छ । एक बर्षअघि देखि पटक पटक झगडा हुँदै आएको नेकपाभित्र फेरि झगडा तीव्र भएको हो । यो झगडाले २०७४ सालको चुनावबाट धेरै जनमत पाएको पार्टी फुट्ने सम्भावना बढेको छ ।
प्रधानमन्त्री ओलीले आफू विरुद्ध बहुमत देखाएर कुनै कदम चाले अप्रिय कदम चाल्ने जवाफ पुष्पकमल दाहाललाई दिएपछि उनीहरुबीचको विवाद कति ठूलो छ भन्ने बुझ्न सकिन्छ । यसअघि पनि विवादमा पर्दा पार्टी भित्र दुबै नेताहरुलाई मिलाउने पहल भएका थिए । तर केही समय विवाद मत्थर हुने त्यसपछि फेरि बल्झिने भइनै रह्यो । अहिले पनि गत भदौबाट मत्थर भएको विवाद फेरि बल्झेको हो । विवाद साम्य भएको दुई महिनामै अहिले किन थप विवाद आयो ? अहिले नेकपाभित्र पछिल्लो विवाद बढ्नुका मुख्य ५ कारण छन् ।
१. कर्णालीमा सरकार ढाल्ने प्रयास
अहिले ओली र दाहालबीच धेरै ठूलो विवाद कर्णालीबाट उत्पन्न भएको हो । दाहाल निकट नेता महेन्द्रबहादुर शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्रीबाट हटाउने प्रयास भयो । संसदीय दलमा अविश्वास प्रस्ताव ल्याउने कामको नेतृत्व ओली निकट नेता यामलाल कँडेलले गरे । माधव नेपाल समूहसँग मिलेर ओली समूहले दाहाल पक्षधर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । तर पछि अविश्वासको प्रस्तावबाट नेपाल समुह पछि हट्यो । अनि माधव नेपाल र दाहाल समूहबीच एकता भयो । त्यसपछि ओली समूहको नेतृत्वमा आएको अविश्वासको प्रस्ताव अलपत्र पर्यो ।
मुख्यमन्त्री शाहीको सत्ता जोगियो । यो प्रकरणमा ओलीले आफू पक्षलाई कर्णालीमा सिध्याउन खोजेको रुपमा लियो । शाहीले ओली पक्षका नेता गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट हटाए । त्यो निर्णय सच्याउन ओलीले शाहीलाई आगह गरे । तर अर्का अध्यक्ष दाहालले भने शाहीलाई प्रदेशको निर्णय अनुसार चल्नु भन्दै ओलीले भने अनुसार नगर्न आगह गरे । यही घटनाका कारण ओली र दाहालबीच सम्बन्ध बिग्रियो । ओली पक्षका सबै मन्त्री हटाएर दाहाल नेपाल पक्षकालाई मात्र मन्त्री बनाउने प्रयास भएपछि ओली रिसाएका हुन् । कार्णालीमा ओली पक्षलाई कमजोर पार्न खोज्दा अहिले विवाद झन् बढेको हो । ओली पक्षका नेताहरु कर्णालीमा जस्तै अन्य प्रदेशमा पनि गर्ने सम्भावना ठानेर पनि अहिले दाहालसंग बढी रिसाएका छन् । अन्य प्रदेशमा पनि दाहाल र नेपाल पक्ष मिल्दा ओली पक्ष अल्पमतमा पर्छ ।
२. केन्द्रमा मन्त्री चयन
नेकपाको भदौको स्थायी समिति बैठकले मापदण्ड बनाएर केन्द्रदेखि प्रदेश सम्म मन्त्रिपरिषद् हेरफेर गर्ने भनेको थियो । त्यसका लागि नेताहरुबीचको बैठक पनि बस्यो । तर दाहालले सबै मन्त्रीहरु हटाउने अडान राखे । ओलीले राम्रा काम गरेकालाई राख्ने बांकीलाई हटाउने भने । दुबैको यसमा कुरा मिलेन । तीनवटा मन्त्रालय खाली थिए । ती मन्त्रालय मध्ये अर्थ मन्त्रालयमा मन्त्री नियुक्त गर्न दाहाल पनि सहमत थिए । तर ओलीले अर्थमन्त्रीसहित शहरी विकास र सञ्चारमन्त्री पनि नियुक्त गरे । यो नियुक्तिमा दाहाल र नेपालका मान्छे परेनन् । ओलीले मन्त्रिपरिषदमा आफू निकट व्यक्तिहरुको संख्या मात्र बढाए । त्यसका कारण नेताहरुबीच विवाद भयो । मन्त्रीहरुमा आफ्ना मान्छे नपरेपछि ओलीसँग दाहाल र नेपाल रिसाए । त्यो पनि अहिलेको विवादको अर्को कारण बनेको छ ।
३. राजदूत नियुक्ति
सबै नेताहरुको सहमतिमा राजनीतिक नियुक्ति गर्ने स्थायी समितिको निर्णय थियो । तर पार्टीभित्र छलफल नगरी प्रधानमन्त्री ओली राजदूतहरु नियुक्तिको निर्णय गरे । अर्थमन्त्रीको पदावधि सकिएपछि आफ्नो विशेष आर्थिक सल्लाहकारको नियुक्ति दिएका युवराज खतिवडालाई अमेरिकाको राजदूत सिफारिस गरे । खतिवडासंँग पहिलेदेखि नै असन्तुष्ट दाहाल र नेपाल ओलीले फेरि उनलाई नियुक्ति दिएपछि असन्तुष्ट बने । आफूप्रति लोयल भएका तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाए । यही बिषयले पनि ओली र दाहालको सम्बन्धमा बिग्रेको छ । यो बिषयले पनि पार्टीमा विवाद उत्पन्न भएको छ ।
४. ‘रअ’ प्रमुखसँग भेट
प्रधानमन्त्री ओलीले यो बीचमा भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटे । यो भेटबारे पहिले नेकपाका नेताहरुलाई थाहा थिएन । एकैपटक गोयल आएपछि मात्र उनीहरुले चाल पाए । प्रधानमन्त्री ओलीले गोयलसँग बालुवाटारमा नै झण्डै ३ घण्टा भेटघाट गरे । दुई देशबीचको सम्बन्धबारे राजनीतिक र कुटनीतिक तहमा छलफल गर्नुको सट्टा गुप्तचर निकायसँग गरेको भन्दै दाहाल नेपाल लगायत नेकपाका सचिवालय सदस्यहरु असन्तुष्ट छन् । नेपाल भारतबीच बिग्रेको सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै विशेष दुत पठाएको भन्दै ओलीले अहिले स्पष्टीकरण दिइरहेका छन् । तर विशेष दुत पठाउने कुरा किन पहिले थाहा भएन भन्ने दाहाल नेपालको चासो छ । त्यसले पनि नेकपामा थप विवाद भएको छ ।
५. भागबन्डा नपुग्नु
नेकपाभित्र विवादको अर्को कारण सरकारलाई सधै दाहाल र नेपाल निकट नेताहरुले कचकच गरिरहन्छन् । हरेक बिषयमा सरकारका कामलाई पार्टीका लगाम हुनुपर्छ भन्ने उनीहरुको धारणा छ । तर यो धारणामा ओली सहमत छैनन् । प्रधानमन्त्री भएपछि केही विशेष अधिकार हुने उनले बताउँदै आएका छन् । तर उनले प्रयोग गरेको विशेष अधिकारलाई दाहाल र नेपालले सधैं असन्तुष्टी जनाउने गरेका छन् । हरेक बिषयमा दाहाल नेपालले समानुपातिक भागबन्डा खोजेका छन् । तर ओली आफ्नो विशेष अधिकार भन्दै आफू निकटकालाई मात्र नियुक्ति र अवसरहरु दिन्छन् । त्यसैले नेकपाभित्र विवाद बढेको छ । -रासस
Discussion about this post