कार्तिक-२५, डेस्क । आज कार्तिक २५ गते, किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३६औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ ।
बुबा जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा फाल्गुनन्द लिङ्देनको जन्म भएको थियो । हरेक वर्षको कार्तिक २५ गतेका दिन किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा गरी फाल्गुनन्द जयन्ती मनाउने गर्दछन् । फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए । उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने लगायतका महत्वपूर्ण कुराहरु उल्लेख छ।
करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ । साथै, कात्तिक २५ गतेका दिन किरात धर्मावलम्बीहरुका लागि बिदा समेत दिइदै आएको छ ।
Discussion about this post