कार्तिक २५, याङ्वरकफोकस / बिराटनगरबाट बसमा फर्किदै गर्दा नै रुघामर्गी लागेजस्तो हुन थाल्यो । टाउको भारी भएर शरीर थकान भएजस्तो अनुभूति हुन थाल्यो । बेलाबेला खोकी पनि शुरु भयो ।
घरमा पुग्दा निकै थाकेजस्तो भयो । भित्री ज्वरो आउन थाल्यो । शरीर निकै भारी भयो । दिउँसो भोक लागेको थियो, त्यो पनि हरायो । तताएर सेलाएको पानी चाहिँ दुई गिलास पिएँ । बेलुकाको खाना एक दुई गाँस टिपेजस्तो गरें रुचेन र छोडी दिएँं । सिटामोल एक दाना खाएर म ढल्के । निन्द्रा लागेन, अस्पट, छटपट हुन थाल्यो । श्वास रोकिन खोज्छ, फोक्सो नै ड्यामेज भएजस्तो हुन थाल्यो । नाँक टालिएजस्तो (रुघा लागेजस्तो) तर नाँकबाट कुनै पानी नआउने, नाक सुख्खा नै हुन्थ्यो । अनि मनमा अनेकौं तनावी कुराहरू खेल्न थाले ।
“अब चाहिँ पक्कै कोरोना लागेछ, म त मर्छु–मर्छु तर मेरा परिवारलाई पनि स¥यो भने के गति होला ? दमकी रोगी मेरी आमाको के हालत हुने होला ?” यी भावनात्मक बियोगसँगै अनन्तकालिन बिछोडका ज्वालाहरू मन भरी बलेर, मुटु भतभति पोलेकोले रातभर छट्पटी भो । ज्वरो झन्झन् बढ्दै गयो । सुख्खा खोकी निरन्तर हुन थाल्यो । बेलुका नै मनुले गुर्जो, बेसार, अदुवा, लसुन, तुलसीको पत्ता, ल्वाङ लगाएर उमालेको पानी मेरो छेउमा राखेकी थिईन् । यो लक्षण यसै भन्न नसकिने भएकोले मैले उनीहरू सबैलाई मेरो नजिक नआउनु भनी सकेको थिएँ । रातभर एक्लै उठ्दै पानी पिउदै ढल्किदै गरे । बिहान भयो तर थोरै पनि आराम भएन ।
बिहान फेरि नयाँ उमालेको पानी पिएँ (जडिबुटी सहितको) । बिहानको खाना राखी दिए तर हेर्नै मन लागेन बलगरेर एक दुई गाँस उठाएँ हरियो डल्ले खुर्सानी मागेर टोकेँ, जिब्रोले पिरो नै थाहा पाएन । त्यसो त खानाको रस नै थाहा पाईएको थिएन । नाकले कुनै गन्ध नै थाहा पाएको थिएन । घाँटीबाट पानी बाहेक केही छिर्न सकेन । तै पनि मलाई हस्पिटल जान मन लागेन । घरमै सुरक्षीत बस्ने । र, नजाने अठोट गरेर बसें । त्यही जडिबुटी, र सिटामोलको साथमा चिरेटो, टिमुर, सिलटिमुर, खानाक्पा, चिम्भिङ निरन्तर सेवन गर्दै तातो पानीको बाफ बेलाबेला लिदै सुतें ।
यसरी नै अनेकौं त्रास र थकानसहित दुई दिन तिनरात बितेर गए । तर स्थिति उस्तै रहयो । अब यस्तै रहयो भने भोलि या चौथौ दिनमा चाहिँ जे पर्ला पर्ला हस्पिटल जानुपर्यो भनेर मनलाई धिरज दिएँ । तर मनमा भय र शरिरमा ज्वरो उस्तै नै रहयो । अब कुनै बेला यो मेरो शरीरलाई सेतो प्लास्टिकले लपेटेर जेसीबीले खनेर अलग्गै पुर्दै गरेको दृश्यहरू मैले नदेखे पनि फेसबुकभरी कुद्नेछ । फेसबुकको भित्ताभरी मलाई श्रद्धाञ्जली दिदै गरेको हुनेछ । यस्तै–यस्तै भयवित कल्पनाले हो कि ज्वरोले हो श्वास रोकिनु खोज्थ्यो । बल गरेर श्वासप्रस्वास गरिरहेँ । यो समयमा मेरा नजिकका साथिहरूसँग पनि यो कुरा गरेको थिएन मैले र गर्न चाहिन पनि । तर घरमा सुरक्षित नै बसिरहेँ ।
चौथो रातमा मलाई केही सहज भए जस्तो भयो (अघिल्लो तिनरातको भन्दा) । श्वासप्रश्वासमा गाह्रो भएन, ज्वरो भए पनि नाँकबाट केही गन्धहरू थाहा पाएँ । मुख आफैमा सामान्य मिठास हुन थाल्यो । खाना पनि अलिअली रुच्न थाल्यो । त्यो बिहानदेखि मुस्किलले तीनचार गाँसचाहिँ खान थाले । खुर्सानी पिरो भएको जिब्रोले अलिअलि थाहा पायो । अनि चाही लाग्यो “अब बाँचे” तर ज्वरो प्रायः उस्तै नै रहयो । फेरि पनि हस्पिटल नजाने निर्णय गरेँ ।
यो बिचमा मलाई अनेकौं चिन्ताहरू थिए/छन् । तर अति महत्त्वपूर्ण चाहिँ प्रथम बिश्वब्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० को रहयो/छ । मलाई यो बेला सम्ममा मानसिक विक्षिप्त नै भएको थिएँ/छु । सदस्यहरू र निर्णायकहरूसँग बारम्बार सम्पर्कमा रहन सकिन/सकेको छैन । मतलब अझै पनि मेरो स्वास्थ्य र मानसिक सन्तुलनले सहि गति लिन सकेको छैन । यसमा मेरा सम्पुर्ण सरोकारवालाहरू माथी क्षमाप्रार्थी चाहन्छु । अहिले मेरो स्वास्थ्य स्थिति सामान्य भएको छ । सामान्य ज्वरोको अनुभुति र बेलाबेला टाउको दुख्नेबाहेक केही छैन । अझै पनि जडिबुटी र ज्वरोको औसधी सेवन गर्दैछु । हामी सब परिवार नै जडिबुटी खान्छौं । अब भने म पूर्ण रूपमा बाँच्न सक्छु भन्ने हिम्मत छ । मेरा लागि फेसबुकमा, म्यासेन्जरमा र प्रत्यक्ष कलमा जो जसले स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँहरूलाई अनगिन्ति धन्यवाद ।
यो अनुभुति लेख्दै गर्दा मलाई कोरोना नै लागेको हो भन्न पनि सक्दिन । किनकि म सँग डाक्टरी रिपोर्ट छैन । तर मलाई यो सालचाहिँ अनौठो रुघाखोकी र ज्वरो चाहिँ पक्कै आएकै हो । सायद हल्लाले गर्दा पनि अलिक धेरै मनमा त्रास भएको हुन सक्छ । त्रासले गर्दा पनि अनौठो लागेको हुन सक्छ । तै पनि यो समयमा हामी सबै सचेत रहौं । कोरोना लाग्ने सबै मरिन्छ भन्ने नसोचौं । नजिकका एकजनालाई लाग्दा मलाई पनि सर्यो होला भनेर नडराउँ । निको भएर बसेकाहरूसँग छिछिदुरदुर नगरौं । आत्माबल बढाउँ । मेरा तिनरातका त्रासदीहरू केवल त्रास नै त्रासले मात्र बितेको हैन बाँच्नुपर्छ म बाँच्छु भन्ने हिम्मतहरू पनि थिए । तर भयवित अनावश्यक कुराहरूले अलिक पिरोलेको मात्र हो ।
सचेत रहौं आफू बचौं अरुलाई पनि बचाउँ । (नयाँ अनलाइन बाट सांभार)
Discussion about this post