कार्तिक-२८, डेस्क । नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज(शुक्रवार)बाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँने तिहारको आज पहिलो दिन काग तिहार हो ।
भोलि कात्तिक २९ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ३० गते आइतवार गाईपूजा, गोवद्र्धन पूजा र मंसिर १ गते तिहारको मुख्य दिन भाईटिका, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४१, तथा म्हपूजा अर्थात् आत्मपूजा गरि तिहार पर्व तीन दिनसम्म मनाइन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ ।
वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
Discussion about this post