कार्तिक-२९, डेस्क । हिजोबाट सुरु नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज बिहान कुकुर तथा साँझ लक्ष्मीको पुजा गरी मनाइदै छ । तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मीपुजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज अर्थात् कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको हो । अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
बिहान कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भन्ने गरिन्छ ।
त्यस्तै, साँझ घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गरिने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ ।
Discussion about this post