मंसिर ११ /सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को ट्रायल कहिलेबाट खुला गर्ने अनिश्चित बनेको छ । कोरोना संक्रमणका कारण चैतदेखि रोकिएको ट्रायल खुलाउन यातायात व्यवस्था विभागले कुनै ठोस निर्णय लिन सकेको छैन ।
प्रदेशका यातायात कार्यलयहरूबाट खुला गर्ने विभागलाई जानकारी दिनुपर्ने हुन्छ । तर, अहिलेसम्म कुनै पनि प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि ट्रायल खुला गरिएको छैन । विभागले पनि खुला गर्नका लागि प्रदेश कार्यालयहरूलाई निर्देशित गरेको पनि छैन ।
सरकारले असोज १ देखि प्रायः सबै क्षेत्रमा बन्दबन्दी तथा निषेधाज्ञा अन्त्य गरे पनि यातायात व्यवस्था विभागले भने कहिलेदेखि ड्राइभिङ लाइसेन्सको ट्रायल खुलाउने भन्ने टुंगो लगाउन नसकेको हो ।
चालक अनुमतिपत्र लिन सवारीधनीहरू ट्रायलको पर्खाइमा रहेका छन् । कोरोनाकाे कारण देखाउँदै प्रादेशिक यातायात कार्यालयले पनि कुनै तातो देखाएका छैनन् ।
विभागले भने प्रदेशबाट खुला गर्नुपर्ने अडान राख्दै आएको छ । प्रदेशमा कोरोना भाइरसको स्रंक्रमणको अझै त्रास रहेको र जोखिम बढ्न सक्ने भन्दै खुला गर्न नमानेको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए ।
‘खुला गर्ने नगर्ने भन्ने विभागसँग सम्पर्क हुँदैन, खुला भएपछि विभागलाई जानकारी गराउनुपर्ने हुन्छ, प्रदेशका कार्यालयहरूले अझै पनि कोरोना भाइरसको कारण देखाउँदै खुला गर्न मानिएका रहेका छैनन् । विभागले खुला गर्नुपर्ने भन्दै प्रदेशका भौतिक यातायात कार्यालयहरूलाई जानकारी दिने तयारी गरेका छौँ, अब केही दिनमै खुला गर्नका लागि पहल गर्नेछौँ,’ भुसालले भने ।
जोखिमको खतरा अझ धेरै रहेको छ । एकैपटक अनुमतिपत्र खुला गर्दा भिड बढ्ने सम्भावना रहन्छ । जोखिमलाई ध्यानमा राखेर सोहीअनुसार निर्णय गर्ने विभागको तयारी रहेको छ ।
ट्रायल खुलेपछि काठमाडौंमा हप्तामै लाइसेन्स पाउन सकिने
यातयात व्यवस्था विभागले लकडाउनको सदुपयोग गर्दै वर्षौँदेखि बाँकी रहेको चालक अनुपतिपत्र (स्मार्ट लाइसेन्स) छापेर सकाएको छ । पुराना लाइसेन्सको छपाइको काम सकिएका छन् भने ट्रायल खुला नहुँदा नयाँ लाइसेन्स छपाइ आउन सकेका छैनन् ।
जसका कारण अब नयाँ आउने सवारी धनीका हकमा काठमाडौं उपत्यकामा एकै हप्तामा लाइसेन्स पाउन सकिने भुसाल बताउँछन् । ‘अहिले पहिलोजस्तो प्रेसर रहेको छैन । ट्रायल खुला हुनेबित्तिकै हामी सहज लाइसेन्स उपलब्ध गराउन सक्छौँ। उपत्यकाबाहिरको हकमा भने एकदेखि ढेड महिना लाग्न सक्छ ।
Discussion about this post