मङ्सिर १२, याङ्वरफोकस / बैतडीमा बलात्कारको घटनालाई एक तोला सुनमा ढाकछोप गरि गाउँमै मिलाउन खोजेको तर सहमति नमिल्दा घटना बाहिरिएको छ ।
सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा सोही स्थानका दीपकसिंह धामीले बलात्कार गरेको घटना बाहिर आएको हो । पीडित पक्षलाई एक तोला सुन दिने सर्तमा तमसुक बनाई उक्त घटना गाउँमै मिलाइएको थियोे ।
गत असार १४ गते उक्त घटनालाई गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले बताएका छन् ।
डिएसपी अधिकारीका अनुसार कार्तिक मसान्त भित्रमा पीडित पक्षलाई एक तोला सुन दिने सर्त राखी तमसुक बनाए पनि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको हो र पीडकले पीडित पक्षलाई धम्क्याउन थालेपछि प्रहरीमा उजुरी आएको थियो ।
पीडितले जबर्जस्तीकरणी गर्ने र मिलापत्र गराउने विरुद्ध जाहेरी दिए लगत्तै घटनामा संलग्न चार जनामा दुई जनालाई पक्राउ गरिएको र दुई जना फरार रहेको प्रहरीले बताएको छ । घटनामा संलग्न सबैको पहिचान गरेर कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।
Discussion about this post