मङ्सिर १८, याङ्वरकफोकस / संयुक्त राष्ट्र संघद्वारा गाँजा खेतीलाई कानुनी मान्यता प्राप्त भएको छ । संयुक्त राष्ट्र संघको लागू औषध तथा अपराध निकायले लागू औषध सम्बन्धी वार्षिक बैठकमा भएको मतदानमा गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा २७ मत र विपक्षमा २५ मत परेको थियो । यस मतदान सँगै गाँजा ५९ वर्षपछि राष्ट्र संघको लागुऔषध सम्बन्धी अभिसन्धिको चौथो सूचीबाट बाहिरिएको छ ।
संयुक्त राष्ट्र संघको कमिसन अन नार्कोटिक ड्रग सचिवालयमा सदस्यका रुपमा नेपालले पनि गाँजा खेती खुलाउने पक्षमा मतदान गरेको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद शेरबहादुर तामाङका अनुसार जेनेभामा रहेका राजदूत प्रकाशकुमार सुवेदीले गाँजा खेती खुलाउने पक्षमा ‘लागु पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा’ मतदान गरेका हुन् ।
तामाङका अनुसार गाँजाबारे अन्तर्राष्ट्रिय रूपमै बहस भइरहेको र विश्व स्वास्थ्य संगठनले ३ वर्ष अगाडि नै संयुक्त राष्ट्रसंघलाई गाँजा लागुऔषधको सूचीबाट हटाई औषधीय वनस्पतिको सूचीमा राख्न पत्र लेखेको थियो ।
गाँजा खेती खुलाउनुका लागि संसदमा विधेयक पारित गर्न केही वर्षदेखि पहल गर्दै आएको र अब गाँजालाई वैधानिकता दिने जिम्मेवारी नेपाल सरकारको काँधमा रहेको तामाङ्ले बताएका छन् ।
Discussion about this post