मङ्सिर १९, याङ्वरकफोकस / सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच मात्रै सहमति गरेर पार्टीभित्रको जारी विवाद समाधान खोज्न नहुने बताएका छन्।
शुक्रबार विहान आफूलाई भेट्न पुगेका उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई उनले भोलिको लागि तय भएको बैठकमा छलफल गरेर मात्र पार्टीभित्रको विवादबारे निष्कर्ष निस्किने सन्देश सुनाएका हुन्।
पोखरेलले अध्यक्ष प्रचण्डसँग सम्पूर्ण अधिकारसहितको कार्यकारी अध्यक्षसहित बनेर जारी विवादको समाधान गर्न आग्रह गरेका थिए।
‘पुरानै कुरा लिएर आउनुभएको थियो,’ पोखरेलले राखेको प्रस्तावबारे प्रचण्डनिकट एक नेताले नेपालखबरसँग भने।
उनका अनुसार पोखरेलले दुई अध्यक्षले ल्याएको प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव बनाउन प्रचण्डसँग आग्रह गरेका थिए।
‘सम्पूर्ण कार्यकारी अधिकार तपाईंलाई दिन प्रधानमन्त्री तयार हुनुभएको छ, साथै यसबीचमा भएका कमीकमजोरी सच्याउने गरी जान पनि उहाँ तयार हुनुभएको छ,’ पोखरेलले प्रचण्डसँग राखेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अब मिलाउनुपर्यो, मिल्नुको विकल्प छैन।’
सो प्रस्तावलाई कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गर्दै अब सबै कुरा पार्टी कमिटीमै निर्णय हुने र अध्यक्ष ओली बैठकमै आएर छलफल गर्नुपर्ने बताएका थिए।
‘अहिले त्यसरी जान मिल्दैन, त्यस्तो त हुँदै हुँदैन। दुई अध्यक्षबीच मात्र सहमति गरेर अब हुन्न। दुबै अध्यक्षको प्रतिवेदन कमिटीमा पेस भइसक्यो अब बैठकमै छलफल हुन्छ। बैठकले जे गर्ने हो त्यसबारे आवश्यक निर्णय गर्छ। जे गर्छ बैठकले गर्छ भनेर उहाँले जवाफ दिनुभयो,’ ती नेताले नेपालखबरसँग भने।
भोलि दिउँसो १ बजेको लागि बोलाइएको सचिवालय बैठकअघि दुई अध्यक्षबीच सहमति जुटाउन पोखरेल सक्रिय छन्।
शुक्रबार विहान प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी समिति सदस्य, सचिवालयका टीमसँग छलफल गर्दा पोखरेल पनि थिए।
कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रस्ताव ल्याएपछि तीव्र असन्तुष्ट रहेका ओलीले १५ दिनपछि त्यसको जवाफी प्रस्ताव सचिवालय बैठकमा पेस गरेका थिए। तर, उनको जवाफी प्रस्तावपछि सचिवालयका बहुमत सदस्य उनीप्रति थप आक्रोशित भएका छन्।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यले यसपटक कुनैपनि हालतमा सम्झौता नगर्ने अडान कायम राखेपछि दबाबमा परेका ओलीलाई सहमतीय प्रक्रियाबाट सेफ ल्याण्ड गराउन उनीनिकट नेताहरुले दौडधुप तीब्र पारेका हुन्।
प्रचण्डलाई भेटेपछि पोखरेल सोही सन्देश बोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका थिए।
प्रचण्डले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी कुनै अप्रिय कदम नचाल्न सुझाव दिएका थिए।
उनले पार्टीभित्रको विवादको मुख्य जड प्रधानमन्त्री ओली रहेकाले बैठकमा बाहेक बाहिरबाट विवाद समाधान नहुने स्पष्ट जवाफ दिएका थिए।
मंसिर १७ गते तय भएको बैठकमा ओली अनुपस्थित भएपछि उनलाई उपस्थित गराउन तीन दिनको समय दिइएको थियो। रासस
Discussion about this post