मङ्सिर २२, याङ्वरकफोकस / सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा चिसोपना देखिएको छ । केन्द्रीय सचिवालय बैठकमा उनीहरुले पेस गरेको राजनीतिक प्रस्तावमा एकअर्काको राजनीतिक चरित्र खुइल्याइएको छ । चमात्कारिक र आश्चर्यजनक रुपमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्दै सरकारको नेतृत्व गरेको नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको सम्बन्ध अहिले टकरावपूर्ण छ ।
तर, उनीहरुबीचको सम्बन्ध कहिल्यै एकनासको छैन । कहिले सुमधुर त कहिले पानी बाराबार रहँदै आएको छ । कुनै एक स्वार्थमा अंकमाल गर्ने उनीहरु एकअर्कालाई बाँदर र पागलको संज्ञा दिन पनि पछि परेनन् ।
सशस्त्र युद्धकालमा होस् वा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि किन नहोस् ओली सधैँ प्रचण्डको कटुआलोचक रहँदै आए । तर, माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनीहरुबीच देखिएको कटुतापूर्ण र सुमधुर सम्बन्धले मुलुकको राजनीतिमा तरङ्ग ल्याउने काम गरिरह्यो । ओली र प्रचण्डबीचको उतारचढावपूर्ण सम्बन्धले स्थायी शत्रु र मित्र नहुने राजनीतिको आख्यानलाई चरितार्थ गरिरहेको छ ।
तत्कालीन नेकपा एमालेका नेतालाई प्रधानमन्त्री बनाउने जस प्रचण्डले पाउँदै आएका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल र ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको ठूलो भूमिका मानिँदै आएको छ । तर, पनि प्रचण्ड र ओलीको सम्बन्ध एकनासे हुन सकेन । रासस
Discussion about this post