मंसिर-२३, डेस्क । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् ।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । अहिले केही बढेर ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो । दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए ।
सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।
विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिए पनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन अनुसार ८ हजार ८ सय ४८ मिटर उचाईलाई नै आधिकारीक मान्दै आएका छन् ।
Discussion about this post