मङ्सिर २७, याङ्वरकफोकस / नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान दिइएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा शुक्रबार सम्मानित भएका हुन् ।
हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई बोलाएर वर्षभरि दिइने तालीममा थापाले उत्कृष्ट प्रदर्शन गरेबापत (इन्टरनेशनल सोर्ड अप अनर) अवार्ड प्राप्त गरेका हुन् । उक्त अवार्ड बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित भएका जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई प्रदान गरेका थिए ।
उक्त सम्मान पाएसँगै उनी आवश्यक परे बेलायती सेनाका जवानहरुलाई समेत तालीम दिन योग्य प्रशिक्षक भएका छन् । उक्त सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो ।
दुई बर्षअघि नेपाली सेनामा भर्ती भएका थापा नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालीमबाट सर्वोत्कृष्ट भइ सेकेन्ड लेफ्टिनेन्ट भएर बेलायतमा हुने त्यस प्रकारको तालीममा गएका थिए ।
Discussion about this post