मङ्सिर २९, याङ्वरकफोकस / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओलीको सर्वसत्तावादविरूद्ध काँग्रेस सडकमा आएको बताएका छन्। काँग्रेसद्वारा विराटनगरको जनआन्दोलन चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले ओलीले सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको बताए।
तनहुँमा गाउँपालिकाले नै पुल उद्घाटनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाएको अवस्थामा सरकारले गरेको ज्यादतीको विरोधमा देशभरि उत्रिन बाध्य उनको भनाइ थियो । उनले यसलाई निरन्तरता दिइने पनि बताए । यस्तै देशमा अब राजतन्त्र फर्केर नआउने दाबी पनि गरे । आफूहरूले तीन वर्ष चुप लागेर बसेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त भएपछि सडकमा आएका कोइरालाको भनाइ थियो ।
कोइरालाले अहिलेको सरकार सञ्चालनको शैली नै ठीक नभएको बताए। उनले अबको चुनावपछि काँग्रेसले सरकार कसरी चलाउनुपर्छ त्यो देखाउने बताए। उनले पिता बिपीले राजनीति गरेको ठाउँमा आएर आन्दोलनको नेतृत्व गर्न पाउँदा खुसी लागेको पनि बताए।
२०४६ सालमा काँग्रेसले कम्युनिस्टसँग सहकार्य गरेर मुलुकमा दोस्रो शक्तिका रूपमा स्थापित गराउनु ठूलो भूल भएको उनको भनाइ थियो । काँग्रेस अब कहिल्यै कम्युनिस्टसँग सहकार्य गरेर अघि नबढ्ने कोइरालाले बताए । रासस
Discussion about this post