पुष ३, याङ्वरकफोकस / ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीको मासिक शुल्क, भर्ना शुल्क र परीक्षा तथा रजिस्ट्रेसन शुल्क गाउँपालिकाले तिरिदिने भएको छ ।
गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीलाई वार्षिक ६ हजार ३ सय रुपैयाँका दरले शैक्षिक खर्च उपलब्ध गराउनेछ । गाउँपालिकाले मासिक शुल्कबापत जनही ४ सय र भर्ना शुल्क, परीक्षा र रजिस्ट्रेसन शुल्कबापत जनही १ हजार ५ सय रुपैयाँका दरले विद्यार्थीको पढाइ खर्च तिरिदिनेछ ।
त्यस्तै, गाउँपालिकाले पालिकाभरिका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई पोसाक र स्कुल ब्याग निःशुल्क वितरण गर्न प्रतिविद्यार्थी २ हजार रुपैयाँका दरले सम्बन्धित सामुदायिक विद्यालयमा सोझै रकम निकासा गर्नेछ ।
साथै एसईई परीक्षा दिने विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको कोचिङ कक्षा पढाउन पालिकाले प्रतिकोचिङ कक्षा ४ सय रुपैयाँका दरले सम्बन्धित विद्यालयमार्फत कोचिङ कक्षा पढाउने शिक्षकलाई रकम उपलब्ध गराउने भएको छ । रासस
Discussion about this post