पौष ९/महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकलहरुलाई कारबाही गरेको जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए ।
जथाभावी रूपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रूपमा चलाउने कार्यहरु कानून विपरीत भएकोले कारवाही गरेको हो ।
यस्ता गलत गरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराउन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।
Discussion about this post