पुष ११, याङ्वरकफोकस / कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आगलागी भएको छ । आज दिउँसो लागेको आगोले फार्म जलेर पूर्णरूपमा नष्ट भएको हो ।
फार्ममा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताएका छन् । आगालागीका कारण तीन वटा टहरा सहित करिब ३३ लाख रुपैयाँँ बराबरको क्षति भएको सुवेदीले बताए ।
“काम गरिरहेका बेला टहरा नकिकै एक्कासी आगो दन्कियो र आधा घण्टा जलेर सबै सखाप भयो । छिमेकीहरुले पानीको जोहो गर्दागर्दै फार्म खरानी भयो, बिक्रीका लागि तयार राखिएको च्याउ जलेर नष्ट भयो”, सुवेदीले भने । सुवेदीका अनुसार फार्म नजिकै बालबालिकाहरु खेलिरहेका थिए ।
बालबालिका खेल्ने क्रममा आगलागी हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।
Discussion about this post