पुष ११, याङ्वरकफोकस / चलचित्र लेखक, निर्देशक तथा नाट्यकर्मी सागर केरुङद्वारा लिखित “तियाहा” नाट्यकृती सार्वजनिक भएको छ । किरात याक्थुम चुम्लुङ (लिसाप) केन्द्रिय समितिको आयोजनामा आज (शनिबार) चुम्लुहिम ललितपुरमा विमोचन कार्यक्रम गरि कृती सार्वजनिक गरिएको हो ।
कृतिभित्र लिम्बु भाषा कक्षा ६, ७, ८ र ९ को पाठ्यपुस्तकमा समाविष्ट नाटकहरुको समालोचना सहितको वर्णन गरिएको छ ।
विमोचन कार्यक्रममा नाट्यकृतीलाई मलिसा याक्थुङ्बा, यासेली योङ्हाङ, डिकध्वज लावती, एलबि नेम्बाङ र लाल अञ्जान सम्बाहाम्फेले समालोचना गरेका थिए ।
अध्यनरत विद्यार्थी र अध्यापन गराउने शिक्षकहरुको लागि अति आवश्यक ठानिएकोले प्रकाशन गरिएको कुलपति राजेन्द्रकुमार जबेगुले बताए ।
बिमोचन समारोहसँगै नाटक सम्बन्धि बहस कार्यक्रम समेत सम्पन्न भएको छ । बहसमा ‘नाटक र मुन्धुमको सम्बन्ध’ – मुन्धुमविद यासेली योङ्हाङ, ‘नेपाली नाट्य क्षेत्रमा आदिवासी नाट्यकर्मिहरुको वर्तमान अवस्था’-प्राध्यापक तथा नाट्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष प्रवीण पुमा र ‘लिम्बू समुदायमा नाटक बिधाको प्रभाव’ बिषयमा प्राज्ञ तथा प्राध्यापक अमर तुम्याङ्ले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लिम्बू बिद्यार्थी मञ्चका अध्यक्ष दीपा लक्सम, याक्थुङ लेखक संघ महासचिव टंक सेलिङ, याक्थुङ मुन्चइत चोक सयङ अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, युवा चलचित्र कर्मी संघका अध्यक्ष दिनेश लिङ्देन, वरिष्ठ चलचित्र निर्देशक तथा नाट्यकर्मी प्रकाश आङ्देम्बे, वरिष्ठ चलचित्र निर्देशक उदय सुब्बा, विश्वको शक्तिशाली महिलामा पर्न सफल सपना रोका मगर, युवा नेता जयप्रकाश केरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
हाल युकेमा कार्यरत सुर्य केरुङ र लाल आङ्देम्बे दम्पतीको आर्थिक सहयोगमा “तियाहा” नाट्यकृती प्रकाशन गरिएको लेखक केरुङ्ले जानकारी दिए ।
केरुङले हालसम्म नुमाहाङमा – २०६७, केमाबा लाजे? – २०६८, पासीभन्ज्याङ – २०७० , दोश्रो नागरिक – २०७२, सैमुन्द्री – २०७३, साक्थिम् – २०७४, सक्सानु पेन्युक – २०७५ , तियाहा – २०७७ जस्ता कृतिहरु प्रकाशन गरेका छन् ।
Discussion about this post