पुष १३, याङ्वरकफोकस / कोभिड-१९ को नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट आएका १ सय ९३ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानीमा राखेको छ । जसमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए ।
महाशाखाले सोमबार(आज) मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो”, उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”
उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पिसिआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिए ।
महाशाखाका निर्देशक डा पाण्डेले पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।
यो नयाँ भाइरस अझ बढी संक्रामक पाइएको छ भने यसको अनुवांशिक गुण पनि बेग्लै भेटिएको छ।
प्रारम्भिक अध्ययन गर्ने संयुक्त अधिराज्यका अनुसन्धाताहरूले फेलापारे अनुसार बेलायतको दक्षिणी भेगमा यो भाइरस तीव्र गतिमा संक्रमित पार्न सक्ने गुणको भेटिएको थियो। जबकि परिवर्तित अन्य भाइरस महिनौं अगाडिदेखि देखापर्दै आए पनि तिनमा यस्तो तीव्र रफ्तार देखिएको थिएन ।
बेलायतमा देखिएको कोरोनाको यो नयाँ भाइरस पहिलेको भन्दा बढी संक्रामक रहेको जनाइएको छ । नयाँ स्वरूपको भाइरस देखिएपछि धेरै देशले बेलायत भ्रमणमा रोक लगाएका छन् । कतिपयले बेलायतमा हुने आफ्नो उडान सेवा स्थगित गरेका छन् । त्यसमा नेपाल पनि पर्छ ।
फ्रान्सले पनि सोही कारण आफ्नो सीमा बन्द गरेको थियो । तर, उसले यही बुधबार मात्रै सीमा खुलाउने निर्णय गरेको हो । सीमा खुलाउँदा आफ्नो देश प्रवेश गर्नुअघि कोरोना परीक्षणमा ‘नेगेटिभ’ रिपोर्ट आउनुपर्ने जनाएको छ । त्यसअघि एक–अर्काको देश प्रवेश गर्न खोजेका ठूला कन्टेनरहरू बाटोमै रोकिएका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार ती व्यक्तिमा गत २१ डिसेम्बर संक्रमण पुष्टि भएको हो । बेलायतमै बसोवास गर्ने उनलाई अहिले स्वास्थ्यसम्बन्धी कुनै समस्या छैन ।
नयाँ स्वरूपको यो भाइरस अरू देशमा पनि पुगिसकेको छ । शुक्रबार जापानले बेलायतबाट आइपुगेका पाँचजनामा कोरोनाको नयाँ भाइरस देखिएको जनाएको छ । त्यसअघि डेनमार्क, अस्टेलिया र नेदरल्यान्ड्सले आफ्नो क्षेत्रमा पनि बेलायतमा देखिएको नयाँ भाइरस देखिएको जनाएको थियो । रासस
Discussion about this post