पुष १३, याङ्वरकफोकस / प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले स्पष्टीकरण माग छ । संसदीय दललाई जानकारी नगराई प्रस्ताव दर्ता गरेको भन्दै स्पष्टीकरण माग गरि निर्देशन सहितको पत्र आज प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई पठाएको हो ।
पत्रमा प्रस्ताव फिर्ता लिन र २४ घण्टाभित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन सहितको पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सांसदहरुलाई पठाएका हुन् ।
आइतबार प्रदेश १ का ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थिए ।
यस्तो छ स्पष्टीकरण मागको पत्र
प्रदेश नं १ को प्रदेश सभामा तत्कालिन नेकपा (एमाले)को संसदीय दलमा निर्बाचनको प्रक्रियाबाट दलको नेतामा माननीय शेरधन राई निर्वाचित भई तत्कालिन चुनावी गठबन्धनमा सहभागी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको समेत सर्मथनमा संविधान बमोजिम मुख्यमन्त्रीमा नियुक्त भई प्रदेश सरकार गठन भएको कुरा अवगतै छ । चुनाबी गठबन्धनमा रहेका दुईवटा साविक दलहरु ०७५ जेठ ३ गते एकतामा रुपान्तरित भएपश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश संसदीय दलबाट पुनः सर्वसम्मतिबाट दलको नेतामा मुख्यमन्त्री माननीय शेरधन राई चुनिनु भई प्रदेश सरकार संविधान कानुन बमोजिम कार्यसम्पादन गरिरहेको छ ।
नेकपा संसदीय दल, दलले पारित गरेको विधानबमोजिम चल्छ र चलिरहेको कुरा सबै दलका सदस्यहरुलाई अवगत नै छ । तर, आफ्नो दल र दलका नेतालाई जानकारी नदिई दलका सदस्य इन्द्रबहादुर आङ्बो प्रस्तावक र दलका सदस्य लछुमन तिवारी सर्मथक भई तपाईको समेत हस्ताक्षरमा मिति २०७७÷०९÷१२ गते बिहान १०ः५५ बजे आफ्नै दलका नेता र मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गर्नुभएको कुरा जानकारीमा आएकोले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुनी व्यवस्था तथा पार्टीको संसदीय दलको विधान २०७६ को भाग ६ दफा २४ को (क) (ख) (ग) (च) (छ) आकर्षित भई विधानको दफा २६ (ग) को देहाय (१) (२) (४) र (५) बमोजिम तपाईंलाई कार्बाही किन नगर्ने ? तसर्थ पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त अविश्वासको प्रस्ताव फिर्ता गरी लिखित स्पष्टीकरण पेस गर्न दलका नेताको निर्देशन बमोजिम पेस गर्न निर्देश गरिएको छ । अन्यथा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कानुन र दलको विधानबमोजिम कार्बाही भई जाने व्यहोरा अवगत गराउँदछु ।
Discussion about this post