पुष १५, याङ्वरकफोकस / ‘अब घर-घरमा रंगमञ्च’ भन्ने अवधारणा आत्मासात गर्दै सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले ‘अनलाइन एकल नाटक प्रतियोगिता’ आयोजना गर्ने भएको छ । देश विदेशमा रहेका प्रतिभावान कलाकारहरुको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको संस्थानले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले नाटकको पाण्डुलिपिसहित सोहीअनुसार नाटकको भिडियो खिचेर २०७७ माघ मसान्तभित्र पठाउनुपर्ने, कलाकारको एकल प्रस्तुति हुनुपर्ने र नाटकको भिडियो एक सर्टको मात्र हुनुपर्ने छ । प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्नुपर्ने छ । नाटक १५ देखी २० मिनेटको हुनुपर्ने बताइएको छ ।
देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कने विषयजस्ता नाटकलाई प्रतियोगितामा सामेल नगरिने संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताएका छन् ।
राईका अनुसार प्रतियोगिताका लागि प्राप्त नाटकमध्ये पहिलो चरणमा निर्णायकले उत्कृष्ट २५ नाटक छनोट गरिने छ । ‘उत्कृष्ट २५ नाटकलाई सांस्कृतिक संस्थानको सबै अनलाइन पोर्टलबाट प्रसारण गरिनेछ । प्रसारण भएको एक महिनाको अवधि अनलाइन अडियन्स जजिङका रूपमा रहनेछ’, महाप्रबन्धक राईले भने, ‘यस अवधिमा सर्वाधिक लाइक र सेयर भएका नाटकलाई निर्णायक मण्डलले बढीमा थप १५ अंकसम्म र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट ५ नाटक छनोट हुने छन् ।’
प्रतियोगितामा विजेताले एक लाख, उप-विजेताले ५० हजार, तृतीयले २५ हजार एवं दुई जनालाई सान्त्वना स्वरुप १५, १५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
उत्कृष्ट ५ मा परेका राजधानी बाहिरका प्रतियोगीलाई काठमाडौं आउने, जाने, बस्ने, खाने सबै व्यवस्था सांस्कृतिक संस्थानले गर्नेछ । तर देश बाहिर रहेका कुनै प्रतियोगी छनोट भएमा नेपाल आउने जाने खर्च आफैंले व्यहोर्नुपर्नेछ । बस्ने, खाने व्यवस्था सांस्कृतिक संस्थानले गर्ने जनाएको छ ।
उत्कृष्ट ५ नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिनेछ ।
Discussion about this post