पुष १५, याङ्वरकफोकस / उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरल जित्ने देशमा नेपाल राम्रो पंक्तीमा रहेको बताएका छन् । ज्यापु संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको “१७ औं राष्ट्रिय ज्यापू दिवस समारोह-२०७७” कार्यक्रममा पोख्रेलले नेपाल अन्य देश भन्दा राम्रो पंक्तीमा रहेको बताएका हुन् ।
सरकारले आवश्यक स्वास्थ्यका पूर्वाधारको विकास गर्दै सङ्क्रमण कम गरिरहेको र पछिल्लो समय आएर सङ्क्रमण निको हुनेको सङ्ख्या बढिरहेको उनको भनाइ छ । सरकारले कुनै पनि तयारी नभएको अवस्थाबाट अहिले ८० भन्दा बढी स्थानमा कोरोना परीक्षण गर्ने अवस्थामा पुगेको उनले बताए । उनले भने, “पहिलो केस हामीले हङकङ पठाएका थियौँ भने अहिले धेरै ठाउँमा परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको छ ।”
मन्त्री पोखरेलले ज्यापु समाजको रचनात्मक सुझावका कारण सरकारले गुठी विधेयक सच्याएको बताए । यो समुदायले सङ्गठित र एकीकृतरुपमा आफ्ना माग सरकारलाई बुझ्ने गरी राखेको उनको भनाइ छ । देशकै कतिपय ठाउँका गुठीले सामन्तवादलाई बढावा दिए पनि काठमाडौँ उपत्यकाका गुठीले धर्म र संस्कृतिलाई बढवा दिइरहेको उनले बताए । उनले भने, “यहाँका गुठी जनताको सम्पत्ति हो र यिनलाई यसरी नै अघि बढाउनुपर्छ ।”
Discussion about this post