सुमन सहयात्री
साउदी अरबियाले बिगत साँढे ३ वर्षदेखि कतारमाथि लगाएको नाकाबन्दी हटाउँदै सिमा नाका खुल्ला गर्ने भएको छ । कतारले इस्लामिक आतङ्वादहरुलाई सहयोग गरेको आरोप साउदीले लगाउँदै आएको थियो । यसका लागि सहमति जुटेको अर्को मुलुक कुवेतले जानकारी दियो ।
उसले कतारमाथि ब्यापार, यात्रा र कुटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले ऊ विरुद्धको नाकाबन्दीको नेतृत्व गरेको थियो । साउदीको कदमलाई अन्य मुलुकहरु युएई, बहराईन र इजिप्टले पनि साथ दिएपछि सानो तर सम्पन्न मुलुक कतार घेराबन्दीमा परेको थियो । तर सबै मुलुकहरूको घेराबन्दी बिच पनि कतारले नाकाबन्दीलाई डटेर सामना गरिरहेको छ ।
लामो प्रयासपछि आपसी विवाद मत्थर गर्न साउदी तयार भएको हो । कुवेतका अधिकारीहरुका अनुसार साउदीले कतारसँगको जमिन र समुद्री नाका खुलाउने सहमति जनाएको छ । साउदी अरबीयामा आजबाट खाडी सहकार्य परिषदको सम्मेलन सुरु हुँदैछ । यसैको पूर्वसन्ध्यामा सहमतिको खुलासा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो सम्मेलनमा साउदीका राजा सलमान, कतारका अमीर तमिम बिन हमद अल थानीलगायतका नेताहरु सहभागी हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नाकाबन्दी फुकुवाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कुवेत र अमेरिकी प्रशासनका केही अधिकारीहरु पनि सम्मेलनमा सहभागी हुनेछन् । – एजेन्सी
Discussion about this post