पुष २२, याङ्वरकफोकस / हङकङ पाँचथर मञ्चद्वारा गायक अमित कुमार राई (जन्तरे मामा)लाई घर निर्माण गर्नको लागि आर्थिक सहयोग उपलब्ध भएको छ । मञ्चका सल्लाहकार प्रताप कोयु राईको संयोजकत्वमा दमक स्थित चारकोल रेस्टुरेन्टमा सोमबार एक कार्यक्रम आयोजना गरि गायक जन्तरे मामालाई एक लाख सतहतर हजार सत्र रुपैंया हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम मञ्चका पुर्ब सह-सचिव भुपेन्द्र योङया (साक्थिम) र पुर्ब अध्यक्ष टिका माखिम फुङ्लेपद्वयबाट गायक राईलाई हस्तान्तरण गरिएको थियो । जन्तरे मामाको घर निर्माणको लागि गठित समितिले चांडै नै थप रकम जुटाएर निर्माण थालिने मञ्चका भुपु सह-सचिव तथा गायक साक्थिम योङयाले बताए ।
आर्थिक अवस्था कमजोर रहेका कारण सामान्य घरमा बसोबास गर्दै आएका गायक जन्तरे मामालाई हङकङ बाट मञ्चले उक्त रकम संकलन गरि पठाएको हो ।
रकम हस्तान्तरण पछि गायक जन्तरे मामाले आफ्नो केहि गीतहरु र अन्य गायकको गीत गाएर सुनाएका थिए ।
स्वर सम्राट नारायण गोपालको आवाज हुबहु रहेको भनी गायक जन्तरे मामा सोसल मिडियामा भाइरल भएका हुन् । उनले एकल तथा चर्चित गायिका मेलिना राई, एलिना चौहान संग युगल गीत गाएका छन् ।
Discussion about this post