माघ-१, डेस्क । आज माघ १ गते, देशभर विभिन्न समुदायमा आ-आफ्नै शैलीमा माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले आजको दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । हिन्दु परम्परा अनुसार आज बिहान सबेरै नदी, तलाउ जस्ता पवित्र स्थलमा स्नान गरी देवता र पितृहरूलाई तर्पण गर्ने चलन छ ।
माघे संक्रान्तिका दिन तराई भेगका थारु समुदायमा भने नयाँ वर्षको रूपमा माघीको उत्सव गरिन्छ । उता, उपत्यकाआसपास बसोबास गर्ने नेवार समुदायमा ‘घ्यो चाकु सन्हु’ नामक आफ्नै पर्व मनाउछन् । त्यस्तै, माघे सक्रान्ति मगर समुदायको मुख्य पर्व हो । मगर समुदायमा यस पर्वलाई माघे सकराती भनिन्छ । माघे सकरातीका दिन चेलिवेटी पुज्ने गरिन्छ ।
यता, लिम्बु समुदायमा आज कक्फेक्वा तङ्नाम धुमधामका साथ मनाईदै छ । कक्फेक्वा तङ्नामका दिनलाई यले सम्बत् अनुसार नयाँ वर्षको रुपमा लिईन्छ । यो संगै आजबाट यले सम्बत् ५०८१ सुरु भएको छ । आजको दिन बिहानै उठी नुहाइधुवाई गरेर मौलिक कार्यविधिका साथ पूजापाठ गरी वनतरुलको टीका लगाई वनतरुल, घरतरुल, फूलतरुल, सुठूनी लगायतका फलफूल खाई एकआपसमा सद्भाव र हार्दिकताका साथ कक्फेक्वा तङ्नाम मनाउने चलन छ ।
Discussion about this post