माघ ३, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहमा रहेका योगेश भट्टराईलाई ‘बैगुनी केटाकेटी’को संज्ञा दिएका छन् । शनिबार काठमाडौमा भएको नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराई ‘बैगुनी’ भएको बताएका हुन् ।
ओलिले भने, ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उहीँ (योगेश भट्टराई) केटो पो रहेछ ।’
२०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङको चुनावी सभामा ‘तपाईंहरु योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनु, मेरो मन्त्री बनाउने जिम्मा भयो’ भनेर ओलिले भाषण गरेका थिए । चुनाव जितेका भट्टराईलाई ओलीले मन्त्री पनि बनाए ।
अहिले भट्टराई प्रतिनिधिसभा विघटनको निर्णयप्रति आपत्ति जनाउँदै प्रचण्ड-नेपाल समूहमा छन् । उनले गत पुस ५ गते राजीनामा दिएका थिए।
Discussion about this post