माघ ४/बजाज मोटरसाइकलको मूल्य वृद्धि भएको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले मूल्य बढेसँगै नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
बजाजले पछिल्लो समय भारतमा पनि मोटरसाइकलको मूल्य लगातार वृद्धि गर्दै आएको छ । यसको सिधा प्रभाव नेपाली बजारमा समेत देखिन थालेको हो ।
बजाजले नेपालमा विक्री गर्ने सर्वाधिक महंगो मोटरसाइकल डोमिनार ४०० को मूल्य ५ लाख ६१ हजार ९०० रुपैयाँ बनाएको छ । यसअघि यसको मूल्य ५ लाख ५४ हजार ९०० रुपैयाँ रहेको थियो । यसमा ७ हजार रुपैयाँ बढाएको हो । हालैमात्र सार्वजनिक भएको बजाज डोमिनार २५० को मूल्य भने यथावत राखिएको छ । यसको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।
बजाजले विक्री गर्ने पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर १२५’ को मूल्य वृद्धि भएर २ लाख ३३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसमा कम्पनीले ४ हजार रुपैयाँ बढाएको हो ।
त्यस्तै पल्सर १५० को मूल्य २ लाख ६५ हजार ९०० र टीडीको मूल्य २ लाख ७५ हजार ९०० रुपैयाँ तोकिएको छ । पल्सर १५० मा ३ हजार र टिडीमा २ हजार रुपैयाँले मूल्य बढाएको हो ।
कम्पनीले पल्सर एनएस १६० एबीएसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण छ । यसमा कम्पनीले ४ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
त्यसैगरि बजाज पल्सर एनएस २०० एबीएस एफआईको मूल्य ३ लाख ६७ हजार ९०० र एबीएस भर्सनको ३ लाख ४७ हजार ९०० रुपैयाँ तोकेको छ । यी दुबै मोटरसाइकलमा ५ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो । त्यस्तै पल्सर २२० एफ एबीएसको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ पुगेको छ । यसमा ५ हजार रुपैयाँ वृद्धि गरिएको हो ।
Discussion about this post