माघ ८, याङ्वरकफोकस / भारतबाट कोभिड-१९ विरुद्धको खोप नेपालमा १० लाख डोज भित्रीएको छ । एयर इन्डियाको विमानबाट खोप आज काठमाण्डौ ल्याइएको हो ।
भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । ‘कुन प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार भएको छैन,’ स्वास्थ्य सेवा विभागका एक कर्मचारीले बताए । उनले भने ‘बिहीबार जिल्ला पठाउने विवरण तयार भयो भने शुक्रबार बिहान खोप प्रदेशको भण्डारण स्थलमा पठाइसक्छौं ।’
खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिने छ । ‘कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन् ।’ स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयले दाबी गरेको छ ।
अनुदानमा आएको खोपलाई अहिले टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएको छ ।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आएको हो ।
Discussion about this post