( सम्झना पुर्खाहरूको ) कविता
✍️जानु काम्बाङ लिम्बु
टाढा….निक्कै टाढा दुर देशमा
बादलको छाँयामुनि निर्जन निलो समुन्द्रको काखमा
मेरा पुर्खाहरूले रोपेको इतिहास रातो पप्पी भै फूलेछ
म, ति रातो पप्पी फूलहरूमा
पुर्खाहरूको छायाँ देख्छु।
कहाँ होला त्यो आँखैले नभ्याउने दुर देश ?
जहाँ, लाखौँ लाख पुर्खाहरू
लडाईंको कथा काँधमा बोकेर
अजर अमर भै उभिएकाछन्
म चाँही ! अलिक वर….
आधुनिक युगको
नयाँ गोर्खाली
मेरा पुर्खाहरू उभिएको युद्द मैदान
भन्दा फरक युद्द मैदानमा
उभिएर आफ्नै जिन्दगीको युद्द लडी रहेछु
भलै, नहोलान् म सँग
बम, गोला बारुद र
पड्कने बन्दुकहरू
तर,
त्यो बेलाको,
विश्व युद्ध भन्दा कम छैनन्
मेरा पनि जिन्दगीका
यी कठिन अनि कठोर युद्धहरू
मेरा पनि ढलेका छन्
लाखौं जिउँदा सपनाहरू
दिन र रातको दोषाधमा घाईते भएर।
थुनिएका छन् अनगन्ती रहरहरू
कर्तप्यको बमकर भित्र कैदि बनेर
आखिर, म पनि त
उहीँ मेरा पुर्खाहरुले
लडाईंबाट जतनले बचाएर ल्याएका
एक थोपा शुद्ध रगत न हुँ
मेरा पुर्खाहरूले रगतले बिश्व इतिहास लेखे
म थोपा थोपा पसिनाले बर्तमान लेख्छु
फरक के छ र
पर उभिएको मेरो पुर्खा
र
वर उभिएको म बर्तमानमा ?
सन्तान ता उनकै हूँ।
ताप्लेजुङ्ग हाल बेलायत !!
__________________________________________
Discussion about this post