बंगलादेश – ढाकामा नरेन्द्र मोदीको विरोध गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन् भने ५ जना प्रदर्सनकारीको मृत्यु भएको छ ।
बंगलादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुगेका हुन् ।
एउटा इस्लामिक धार्मिक सङ्गठनले शनिवार पनि विरोधप्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हडताल गर्ने घोषणा गरेको छ ।
शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी बंगलादेशले जनाएको छ ।
ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएको बताइएको छ ।
किन भयो विरोध र हिंसा?
बीबीसी बंगलाका अनुसार ढाकामा विगत केही सातादेखि वामपन्थी र दक्षिणपन्थी सङ्गठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए ।
विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो ।
ढाकामा शुक्रवारको प्रार्थनापछि मानिसहरूले मोदीविरुद्ध नारा लगाउन र तोडफोड गर्न थालेपछि प्रहरीले कारबाही गरेको ढाकास्थित बीबीसी संवाददाताले बताएका छन् ।
अन्य स्थानमा पनि विरोध चर्किँदा हिंसा भयो।
दक्षिणपन्थी इस्लामिक सङ्गठनहरूले मोदीको नीति “मुस्लिम समुदायविरोधी” भएको आरोप लगाउँदै विरोध गरिरहेका छन् ।
भारतले बंगलादेशसँग “हेपेर व्यवहार गर्ने गरेको” आरोप लगाउँदै प्रदर्शनकारीहरूले “भारतीय आक्रामकता” को विरोध गरेको दाबी गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीद्वारा विवादास्पद नागरिकता कानुनको बचाउ गरेको आरोप छ । ‘दिल्ली दङ्गामा प्रहरीको ज्यादती भएको एम्नेस्टी इन्टर्न्याश्नलले निष्कर्ष निकालेको छ ।´
शुक्रवार चटगाउँ र ब्राह्मनबारियामा के भयो?
ढाकामा प्रहरीले कारबाही गरेको सूचना पाएपछि चटगाउँस्थित हाटहजारी मदरसाबाट विरोध र्याली निकालिएको त्यहाका सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले कारबाही गर्दा घाइते भएका मानिसलाई चटगाउँ मेडिकल कलेजको अस्पतालमा लगिएको छ भने घाइतेमध्ये चार जनाको मृत्यु भएको त्यहाँस्थित एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।
हिफाजत-ए-इस्लामका नेता मुजिबुर रहमान हमिदीले आफ्ना केही समर्थकहरूको मृत्यु भएको बीबीसी बंगलालाई बताए ।
प्रदर्शनकारीहरूको अवरोधका कारण शनिवार अपराह्णसम्म चटगाउँलाई जोड्ने एउटा राजमार्ग अवरुद्ध गरेकोले बन्द छ ।
ब्राह्मनबारियामा पनि शुक्रवार मदरसाका विद्यार्थीहरूले एउटा र्याली निकालेका थिए । चटगाउँमा प्रदर्शनकारीको मृत्यु भएको सूचना पाएपछि उनीहरू उग्र भए ।
स्थानीय पत्रकार सेलिम परवेजका अनुसार प्रदर्शनकारीहरूले रेलस्टेशनमा आगो लगाइदिएका छन भने सहरका विभिन्न स्थानहरूमा तोडफोड र गाडीहरूमा आगजनी गरेका छन् ।
त्यसपछि प्रहरीले गोली चलाएको र गोली लागेकामध्ये एक जनाको मृत्यु भएको बताइएको छ । परवेजका अनुसार मृतक मदरसाका विद्यार्थी हुन् । @बिबिस
Discussion about this post