चैत २६ बिहिबार
न्यूजिल्याण्डले भारतीयहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको अनियन्त्रित संक्रमणपछि न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो । अब ११ अप्रिलदेखि भारतीयलाई न्यूजिल्याण्डमा प्रवेश गर्न दिइने छैन । यो रोक २८ अप्रिलसम्म लागू रहनेछ । प्रधानमन्त्री जेसिन्डा अर्डनले घोषणा गर्दै देशमा पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमणका २३ केसमध्ये १७ केस भारतीय रहेको बताइन् ।
संक्रमित पाइएका १७ जना भारतबाट आएका थिए त्यसैले यस्तो निर्णय गरिएको अर्डनले बताइन् । सिंगापुरले पनि भारतमा भाइरस संक्रमणको बढ्दो दर देखिएपछि ८ हजार भारतीयको भिसा रोकिदिएको छ । भिसा रोकिएका भारतीयहरु गत वर्ष कोरोनाकालमा सिंगापुरबाट भारत आएका थिए र अब फेरि सिंगापुर जान चाहन्छन् ।
न्यूजिल्याण्डमा विगत केही दिनयता कोरोनाभाइरसका २ हजार ५३१ नयाँ केस भेटिएका छन् । प्रधानमन्त्री अर्डनका अनुसार भारतबाट आएकाहरुमा संक्रमण भेटिइरहेकोले यो अस्थायी प्रतिबन्ध लगाइएको हो । न्यूजिल्याण्डका नागरिकका लागि पनि यो नियम लागू हुनेछ । सरकारले विदेशमा कोरोना संक्रमणका विषयमा ध्यान दिइरहेको र त्यहाँ फैलिने संक्रमणका आधारमा अन्य देशबाट आउन समेत प्रतिबन्ध लगाउन सकिने प्रधानमन्त्री अर्डनले बताइन् ।
Discussion about this post