अफगानिस्तानको सत्ता कब्जामा लिएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलो पत्रकार सम्मेलनमार्फत् २० वर्ष लामो संघर्षपछि देशलाई मुक्त गराउन सफल भएको र विदेशीहरूलाई निकालेको बताएका छन ।
‘यो पूरै देशका लागि गर्वको क्षण हो ।अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौं,’ उनले पत्रकार सम्मेलनमा भने ।
प्रवक्ता मुजाहिदले आफूहरूविरूद्ध लडेका सबैलाई माफी दिएको भन्दै बाह्य वा आन्तरिक शत्रु अब नचाहिने बताएका छन । उनले अबउप्रान्त कसैलाई हानि नगर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको उल्लेख गरेका छन ।
‘आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौं । हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौं । सबै दूतावास सुरक्षित छन । वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघलाई यो भरोसा दिलाउन चाहन्छु, अफगानिस्तानमा सबै सुरक्षित छन । हामी विश्व समुदायलाई भरोसा दिन चाहन्छौं, अफगानिस्तानको भूमि कुनै पनि देशविरूद्ध प्रयोग हुन दिने छैनौं,’ उनले भने ।
पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्नेबारे निर्णय गरिने जानकारी दिएका छन ।
उनले आफूहरू सरिया कानुनका आधारमा महिलाहरूको हकअधिकारप्रति प्रतिबद्ध रहेको बताए । `उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन । हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौं, महिलाहरूलाई भेदभाव गरिने छैन,’ मुजाहिदले भने ।
उनले अगाडि भने- ‘हाम्रो धर्मअनुसार महिलालाई अधिकार दिइनेछ । उनीहरू शिक्षा, स्वास्थ्य र अलग अलग क्षेत्रमा काम गर्नेछन । अन्तर्राष्ट्रिय समुदायमा महिलाको अधिकारलाई लिएर चिन्ता छ । हाम्रा महिला मुसलमान हुन्, उनीहरू सरियतअनुसार बस्नुपर्छ ।’
आफूहरूले सरकार गठन गर्न गम्भीर रूपमा काम गरिरहेको र केही समयमै सरकार घोषणा हुने पनि मुजाहिदले बताए। अफगानिस्तानमा हुर्किएका युवाहरूले देश नछाडून् भन्ने आफूहरूको चाहना रहेको पनि उनले उल्लेख गरे ।
तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहने विश्वास पनि दिलाउन चाहेको छ । ‘निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन् । कसैप्रति बदलाको भाव देखाइने छैन,’ उनले भने, ‘एकपटक फेरि मिडियालाई भरोसा दिलाउन चाहन्छौं, हामी मिडियालाई स्वतन्त्र रूपमा चल्न दिनेछौं । निजी मिडियालाई पनि हाम्रो फ्रेमवर्कअनुसार काम गर्न दिनेछौं ।’
‘इस्लाम हाम्रो देशको अहम् मूल्य हो । मिडियाले यसलाई पनि स्थान दिओस् । मिडिया स्वतन्त्र रहनेछन्, मिडियाले हाम्रो आलोचना गरे हामी अझै राम्रो भएर काम गर्न सक्ने छौं ’ उनले थपे ।
(बिबिसी, रोयटर्स लगायत एजेन्सीको सहयोगमा)
Discussion about this post