काठमाडौं – प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौता अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल गरेको बताएका थिए । एमसीसीका उपाध्यक्ष सुमारले उक्त सम्झौता संसदबाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
भेटको क्रममा उनीहरुले एमसीसी र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुबारे छलफल गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, “आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो। हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरु सहित नेपाल/अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेका छौं।”
भेटको क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि आफूले राजनीतिक स्तरमा छलफल अगाडि बढाएको प्रतिक्रिया दिएका थिए । यस्तै एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी संसदबाट अनुमोदन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन् । प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटबारे अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
डिसि नेपाल
Discussion about this post