स्रोतहरुका अनुसार बंगलादेशमा २ समुदायहरुबीच साम्प्रदायिक दंगा भड्काउन इस्लामी चरमपन्थी समूहहरुको संलग्नता रहेको आशंका गरिएको छ, यसबारे थप अनुसन्धान भैरहेको छ ।
इस्कन प्राधिकरणले घटनाको बारेमा ट्वीट गरेर मन्दिरमा तोडफोडपछिको तस्वीर शेयर गर्दै लेखेको छ, ‘बांग्लादेशको नोआखलीमा इस्कन मन्दिर र भक्तहरुमाथि हिंसात्मक हमला भएको छ । मन्दिरलाई ठूलो क्षति पुगेको छ र एक भक्तको अवस्था अत्यन्तै नाजुक छ ।’
शनिबार साँझ अर्को ट्वीट गर्दै इस्कनले भनेको छ, ‘पार्थ दास एक उत्साही भक्त थिए, जसलाई हिजो २०० मानिसको उत्तेजित भीडले मारेको थियो । उनको शव मन्दिर नजिकैको पोखरीबाट बरामद गरिएको छ ।’
इस्कनले थप भनेको छ, ‘हामीले बंगलादेश सरकारलाई सबै हिन्दूहरुको सुरक्षा सुनिश्चित गर्न र षड्यन्त्रकारीहरुलाई सजाय दिन आग्रह गरेका छौँ ।’
केही दिनअघि बंगलादेशको काेमिला जिल्लाकाे चाँदपुरमा दुर्गा पूजाका क्रममा भएकाे हमलामा ४ जनाको मृत्यु भएको थियाे । यसपछि बंगलादेश प्रशासनले राष्ट्रिय स्तरमा सुरक्षा सम्बन्धमा रेड अलर्ट जारी गरेको छ । प्रारम्भिक अनुसन्धानमा अल्पसंख्यक हिन्दू समुदायको दुर्गा पूजा पर्वमा हिंसा भड्काउने दोषीहरुविरुद्ध महत्वपूर्ण सुराक मिलेको अधिकारीहरुले बताएका छन् ।
त्यहाँका गृहमन्त्री असद-उज-जमान खान कमलले पत्रकारहरुसँग भने, ‘हामी आशावादी छौं कि अर्को एक वा दुई दिनमा घटनाको अनुसन्धानमा प्रगति हुनेछ ।’
बंगलादेशकी प्रधानमन्त्री शेख हसीनले कोमिला जिल्लामा केही दिनअघि भएको हिन्दू मन्दिरहरु र दुर्गा पूजा पण्डलहरुमाथिको हमलापछि कडा चेतावनी जारी गरेकी थिइन् । तर पनि हिंसा रोकिएन, त्यसको केही घण्टापछि नै इस्कन मन्दिरमा हमला भयो ।
प्रधानमन्त्री हसीनाले भनेकी थिइन्, ‘कसैलाई पनि छोडिने छैन । उनीहरु (हमलाकारी) कुन धर्मका हुन् भन्ने पनि फरक पर्दैन । उनीहरुलाई पत्ता लगाई सजाय दिइनेछ ।’
Discussion about this post