काठमाडौं – नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघको पहिलो महाधिवेसनले ९ बुँदे घोषणापत्र जारी गरेको छ ।
शुक्रबार राति ललितपुरको हिमालय होटलमा सम्पन्न महाधिवेसनले जारी गरेको घोषणापत्रमा नेपालका आदिवासी जनजाति हकहितका लागि हुने सबैखाले आन्दोलनमा साथ सहयोग गर्ने उल्लेख छ ।
नेपाल आदिवासी जनजाति महासंघको छातामुनि रहेर काम गर्ने उद्घोष गर्दै राज्यद्वारा हुँदै आएका विभेदविरुद्ध एकजुट भएर संघर्ष गर्ने प्रतिवद्धता जनाएको छ ।
घोषणापत्र–
नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ
ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय महाधिवेसन
द्वारा जारी ललितपुर घोषणापत्र–२०७८
विश्वभर रहेका नेपाली आदिवासी जनजाति समुदायको एक मात्र साझा राष्ट्रिय संस्था नेपाल आदिवासी जनजाति महासंघ भएको र यसले विश्वभरको नेपाली आदिवासी जनजातिलाई एउटै झण्डामुनि गोलबन्द गराई आदिवासी जनजाति समुदायको आन्दोलनलाई निरन्तर नेतृत्व गर्दै आएको सास्वत सत्यलाई अझ निरन्तरता दिने प्रण गर्दै,
आदिवासी जनजातिहरुको राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक लगायत अधिकारका निम्ति विश्वका कुनै पनि देशमा भएका आदिवासी जनजाति आन्दोलनको क्रममा शहादत्त प्राप्त गर्नुभएका महान शहीदहरूप्रति उच्च सम्मान व्यक्त गर्दै,
आदिवासी जनजातिहरूको एकता, अस्तित्व, पहिचान र अधिकारका लागि विश्वभरका सम्पूर्ण नेपाली आदिवासी जनजातिहरू एकताको सन्देश दिँदै,
नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघको २०७८ कात्तिक ४–५ गते काठमाडौंमा सम्पन्न ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय महाधिवे्सनबाट पारित विश्वभर छरिएका नेपाली आदिवासी जनजातिहरूको तर्फबाट राज्यद्वारा जारी विभेद विरुद्ध एकतावद्ध भइ पहिचान र अधिकार प्राप्तिका लागि सशक्त रुपमा सामूहिक भावनाका साथ निरन्तर संघर्ष गर्ने प्रण गर्दै यो ‘ललितपुर घोषणापत्र–२०७८’ जारी गर्दछौं :
१. नेपाली आदिवासी जनजातिको पहिचान, इतिहास, भाषा, धर्म, संस्कृति, परम्परागत ज्ञान सीपको संरक्षण सम्वद्र्धनका लागि विश्वभर रहेका आदिवासी जनजातिहरुलाई एकतावद्ध गर्दै संगठित भएर अघि बढ्ने प्रण गर्दछ ।
२. आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा हुने राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक लगायत सबैखाले आन्दोलनमा हामी संसारभर छरिएर रहेका नेपाली आदिवासी जनजातिहरू विना पूर्वाग्रह ऐक्यवद्धता जनाउने र एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गर्दछ ।
३. नेपालको संविधान–२०७२ मा आदिवासी जनजातिले विगतदेखि उठाउँदै आएको पहिचान र अधिकारको सवालहरू पूर्णतः समावेश नभएकोले अविलम्ब संविधान संशोधन गरियोस् भन्ने महाधिवेशन माग गर्दछ ।
४. नेपाल सरकारले रोजगारीको सिर्जना गर्न नसक्दा लाखौ नेपाली दाजुभाई तथा दिदीबहिनी प्रवासको भूमिमा श्रम बगाउन विवश छन् । यो रहर नभई बाध्यता हो । जसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको छ । विदेशमा रहेका ती सबै नेपालीहरूको वैदेशिक रोजगारी, उनीहरूको पैत्रिक सम्पति र नेपालमा लगानी गरेको सम्पतिको सुरक्षा तथा मतदानको अधिकार प्राप्त नेपाली नागरिकलाई आफू रहेको विदेशबाट संघ, प्रदेश र स्थानीय तहको निर्बाचनमा मतदानको व्यवस्था गर्न जोडदार माग गर्दछ ।
५. ब्रिटिश गोर्खा सैनिकहरू सन् १९४७ को सन्धिअनुसार राज्यको प्रतिनिधित्व गर्दै गोर्खा सैनिकमा भर्ती हुनु भएकोले ती सैनिकको सन्तानहरूले वंशजको आधारमा प्राप्त गर्ने नेपाली नागरिकतालाई निरन्तरता दिइयोस् । बेलायती र सिंगापुर सेना सरह समान पेन्सन र समान सुविधा तथा अवसरका लागि नेपाल सरकारबाट अबिलम्ब कुटनीतिक पहल गरियोस् ।
६. आदिवासी जनजाति समुदायको साझा र स्वायत्त राष्ट्रिय संगठन नेपाल आदिवासी जनजाति महासंघ तथा जनजातीय संगठनहरूमाथि हुने सबैखाले बाह्य हस्तक्षेप र व्यक्तिगत रुपमा जनजाति नेतृत्वमाथि हुने दलीय आक्षेपको अन्त्य गर्न प्रतिबद्धता जनाउँदछ ।
७. आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति, प्रथाजनित अधिकार सुनिश्चित गर्दै आदिवासी जनजातिबारे व्यापक अनुसन्धान गर्दै शैक्षिक क्षेत्रबाट योगदान पुर्याउनका लागि आदिवासी जनजाति विश्वविद्यालय स्थापना गर्न जोडदार माग गर्दछ ।
८. नेपालमा हुने आदिवासी आन्दोलनप्रति पूर्ण एक्येवद्धता जाहेर गर्दै संसारभरिका नेपाली आदिवासी जनजातिहरू एकजुट भइ पहिचान र अधिकार प्राप्तिको आन्दोलनप्रति सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाउँदछ ।
९. नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघको ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय महाधिवेसन सम्पन्न गर्नका लागि महत्वपूर्ण सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयका साथै सम्पूर्ण प्रवास शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, अतिथिहरु, पर्यवेक्षकहरुका साथै सबैमा धन्यवाद ज्ञापन गर्दछ ।
अन्तमा, यो हाम्रो न्युनतम सामूहिक प्रतिबद्धता हो । आदिवासी समुदायमाथि वर्षौँदेखि भइरहेको विभेदको अन्त्य गर्न इतिहासले हाम्रो पुस्तालाई सुम्पेको जिम्मेवारीबाट हामी कहिल्यै भाग्ने छैनौ र यसलाई अवसरको रुपमा लिनेछौं । यसका लागि हाम्रा उपरोक्त सवालहरू सम्बोधन नभएसम्म निरन्तर सङ्घंर्ष जारी राख्ने र अन्तिम घडीसम्म लडिरहनुपर्ने हुँदा संसारभरका नेपाली आदिवासी जनजातिहरूलाई यो निर्णायक संघर्षमा तन, मन र वचनले भौतिक, नैतिक, आर्थिक सहयोग जुटाउने प्रतिवद्धताका साथ नेपाल आदिवासी जनजाति महासंघको एउटै साझा झण्डामुनि गोलबन्द हुनेछौं ।
जय आदिवासी जनजाति ।
सम्वत् २०७८ कातिक ५ गते
ललितपुर, नेपाल ।
(साभार – तस्वीर र समाचार नेपालमामिला डटकम बाट लिएका हौ ।)
Discussion about this post